रविसँग नाम जोडेपछि डिल्लीरामविरुद्ध करिश्माले हालिन् उजुरी

माघ २५, २०७९


जुनसुकै विषयमा अनापसनाप बोलेर भाइरल बनिरहेका डिल्लीराम खनालले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग अभिनेत्री करिश्मा मानन्धरको नाम जोडेर भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएपछि करिश्माले उनीविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । मंगलबार साइबर ब्यूरोमा आफूले खनालविरुद्ध उजुरी दिएको उनले फेसबुकमार्फत् जनाएकी छन् ।

खनालले बोलेको भिडियो शेयर गर्दै उनले लेखेकी छन्, ‘उहाँ को हो रु यो अत्ति भयो । भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहेँ, सहेँ । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरुँ नेपालको कानुन कत्तिको बलियो छ । प्रेम दाई भन्नुस म कसरी बसेको थिएँ ? लिभिङ टुगेदरमा ? म हिन्दू हुँ । यो विचारलाई विश्वास नगर्ने व्यक्ति हुँ । यो अति भयो । म मेरो संसारमा खुसी छु ।

करिश्माले अर्को एउटा स्टाटस लेख्दै हामीले कस्तो समाज बनाइरहेका छौं र कुन तरिकाको समाजीकरण गरिरहेका छौं भनेर प्रश्न गरेकी छन् । पछिल्लो समय भाइरल हुने होडमा कसैको चरित्र हत्या गर्ने, अपशब्द बोल्ने जस्ता गतिविधि मौलाएका छन् जसले समाजलाई नै उत्तेजक, उग्र र ध्वंसात्मक बनाइरहेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यो अवस्था निम्तिएको देखिन्छ ।