दर्शकले कथावस्तु बुझेर मात्र चलचित्र हेर्छन् : महानायक राजेश हमाल

फागुन १०, २०७९


महानायक राजेश हमालले चलचित्रमा नेपाली मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकता सहितको चलचित्र बने विश्व बजारमै स्थान पाउने बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । हमालले प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा लागेकाहरुलाई चुनौती थपिएको बताउनुभयो । हिजोका दिनमा चल्ने चित्र हेर्ने चलचित्र हलमै पुग्नुपथ्र्यो । अहिले सबैको हातमा चलचित्र पुगिसक्यो । कुनै समय थियो, चलचित्र बने पुग्थ्यो, दर्शकहरुले हेरिहाल्थे । अहिले त्यो अवस्था छैन, दर्शकले कथावस्तु बुझेर मात्र चलचित्र हेर्छन् ।

अब कस्ता विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ, उहाँले भन्नुभयो- अर्को कुरा अहिले बालबालिका पनि चलचित्रको प्राविधिक पक्षबारे जानकार छन् । विभिन्न सोसल मिडियाका कारण हरेक घरमा हरेक उमेर समूहका कलाकार उत्पादन भइरहेका छन् । त्यसैले अबको मुख्य विषय भनेको प्रविधिको उच्चतम प्रयोग र कथावस्तु नै हो । कार्यक्रममा सहभागीहरुको नेपाली चलचित्र बजार सेलाउनुको कारण के हो ? भन्ने प्रश्नको जवाफमा नायक हमालले विदेशी सिनेमाको देखासिकीका कारण यो अवस्था आएको धारणा राख्नुभयो । पहिलाका चलचित्रमा नेपालीपन झल्किन्थ्यो । गाउँघरका कथा समेटिएका हुन्थे ।

हरेक उमेर समूहका दर्शकले चलचित्रमा आफ्नो कथा पाउँथे र, पो चलचित्र हलसम्म पुग्थे, अहिले त्यस्त चलचित्रहरु बन्न छोडेकै कारण चलचित्र बजार सेलाएको हो, उहाँले भन्नुभयो- अहिलेका चलचित्रमा विदेशी नक्कल गर्न खोजिन्छ । जसले गर्दा चलचित्रहरु यता न त्यताका निर्माण हुन्छन् । अनि कसरी फस्टाउँछ चलचित्र बजार ? चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष शिव पुनले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको  थियो  ।