घोराही-तुलसीपुर सडक निर्माण कार्यमा ढिलाई भइरहेकोमा सांसद गिरीको आपत्ति

फागुन १०, २०७९


फागुन १०, नेपाली का‌ग्रेसका सांसद दीपक गिरीले दाङ स्थित तुलसीपुर-घोराही-लमही सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाएका छन् । चार वर्षदेखि बनाउन सुरु गरिएको सो सडकखण्डमा दुर्घटनामा परी करिब २२ जनाले ज्यान गुमाउँदा पनि त्यसको निर्माण कार्य सम्पन्न गर्न सरकारले चासो नदिएकोमा उनको आक्रोश थियो । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले सो सडकखण्डको निर्माण कार्य ढिलाइ हुनुको कारणबारे संसद्लाई जानकारी गराउन पनि सरकारसँग माग गरे ।

उनले ३० महिनामा सम्पन्न गर्ने सम्झौता सहित सुरु गरिएको सो सडक खण्डको निर्माण कार्य ३ पटक म्याद थप गर्दा पनि ९ दशमलव ९ प्रतिशत मात्रै निर्माण भएको उल्लेख गर्दै यस्तो लाजमर्दो अवस्था आउन नदिन नेपाल सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने पनि बताए । सांसद गिरीले सरकारले सांसदहरूले संसद्को विशेष समय र शून्य समयमा उठाएर प्रश्नको उचित जवाफ हालसम्म नदिएकोभन्दै दुखेसो समेत व्यक्त गरे ।