लुम्बिनी प्रदेश सभामा संसदीय समिति गठन हुन ढिलाइ

फागुन ११, २०७९


फागुन ११, लुम्बिनी प्रदेश सभामा संसदीय समितिहरु गठनमा ढिलाइ भएको छ । प्रदेश सभा सचिवालयले समिति गठनका लागि दलहरुलाई नाम मागे पनि सबै दलले नाम दिन नसकेकाले ढिलाइ भएको हो । लुम्बिनी प्रदेश सभामा ६ वटा समिति छन् । प्रदेश सभा विशेषाधिकार समितिबाहेक उद्योग अर्थ पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक विकास समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, कृषि वन तथा वातावरण समिति छन् ।

यी समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने प्रचलन छ । तर कांग्रेसभित्रै कसलाई पठाउने निधो नभएकाले टुंगोमा पुगेको छैन । सत्तारुढ दलले सरकारलाई पूर्णता दिनु अगाडि नै विषयगत समिति टुंगाउन चाहेपनि विपक्षी दलबाट सदस्यहरुको नामै सिफारिस नभएपछि समिति गठनमा ढिलाइ भएको सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । विपक्षी दलले अहिलेसम्म मुख्य सचेतक र सचेतकसम्म तोक्न नसकेकाले पनि संसदीय समिति गठनमा ढिलाइ भएको उनको भनाइ छ ।

‘संसदीय समिति कानुन निर्माणको महत्वपूर्ण पाटो हुन् र आवश्यक पर्दा सरकारलाई निर्देशन दिने निकाय पनि हुन् त्यसैले छिटो गठन गर्नुपर्छ भन्ने हाम्रो जोड छ, चौधरीले भने, तर हामीले चाहेर मात्रै संसदीय समिति गठन हुने होइन, सबै दलले नाम दिनुपर्‍यो ।प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले समिति गठनका लागि दलहरुलाई सांसदको नामावली दिन पत्राचार गरिसकिएको तर सबै दलबाट नाम नआएकाले ढिलाइ भएको बताए । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा १० दल रहेका छन् ।