लुम्बिनीमा चैत ७ गते प्रदेश सभा बैठक आह्वान

चैत ०२, २०७९


चैत २, लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको सातौं बैठक चैत ७ गते बस्ने गरी आह्वान भएको छ । चैत ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना निकालेर बैठक बस्ने जानकारी गराएका हुन् । चैत ७ मा बस्ने बैठक अघि नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी लगायत सत्ता साझेदार दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छ । लुम्बिनीमा नेकपा एमालेका स्थायी कमिटी सदस्य लीला गिरी मुख्यमन्त्री छन् ।

अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुने नेपाली कांग्रेसका एक सांसदले बताए । लुम्बिनीमा सरकार जोगाउन कम्तिमा पनि ४४ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ । लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । यो प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४ र ४ जनमत पार्टी र जसपाका ३ र ३ जना सांसद छन् । माओवादीबाट बिद्रोह गरी तीन जनाले स्वतन्त्र उठेर निर्वाचन जितेका छन् । जसमध्ये एक जनाले माओवादी प्रवेश गरिसकेका छन् । गत पुस २७ गते एमालेका संसदीय दल नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।