‘प्रसाद २’ को प्रदर्शन रोकिँदा ‘बहाव’ लाई राहत

चैत २२, २०७९


गत भदौ महिनादेखि प्राय: हरेक हप्ता नेपाली फिल्मबीच भिडन्त हुँदै आइरहेको छ । आगामी बैशाख १ गते त झन् चारवटा फिल्म एकआपसमा भिड्ने तयारीमा छन् । यही शुक्रबार पनि दुई फिल्म ‘प्रसाद २’ र ‘बहाव’ एकसाथ रिलिज हुँदै थिए । तर, मंगलबार उच्च अदालत पाटनले ‘प्रसाद २’को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि अब ‘बहाव’ एकल प्रदर्शनमा आउने भएको छ ।

केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म अनुमति बिना प्रदर्शन गर्न लागेको र निर्माता सुभाष थापाले आफ्नो पैसा फिर्ता नगरेको भन्दै रिट दायर गरेपछि अदालतले ‘प्रसाद २’ को प्रदर्शन नगर्न आदेश जारी गरेको हो । उच्च अदालतको आदेश सँगै फिल्मको सेन्सर पनि रोकिएको छ । २०७५ सालको सुपरहिट फिल्मको सिक्वेल भएका कारण यो फिल्मप्रति धेरैको आशा थियो ।

नाम चलेका कलाकारको जत्था र फिल्मको नाम नै ब्रान्ड भएकाले ‘प्रसाद २’सँगको भिडन्त ‘बहाव’ का लागि सहज थिएन । ‘छक्का पञ्जा ४’सँग भिड्दा ‘छड्के २’ ले बेहोर्नु परेको हविगत सबैमाझ छर्लङ छ । यसैले ‘बहाव’ टिम ठूलो फिल्मसँग भिड्दा के हुने हो भन्ने कुराले धेरथोर बेचैन थियो । तर, अदालतले नै ‘प्रसाद २’

को प्रदर्शनमा अंकुश लगाएपछि ‘बहाव’लाई ठूलो राहत मिलेको छ ।

समीक्षा र दर्शक प्रतिक्रिया दुवै उत्कृष्ट मिलेको अवस्थामा ‘बहाव’ ले प्रदर्शनको एक हप्ता हलमा आफ्नो बलियो उपस्थिति जनाउन सक्नेछ । दोस्रो हप्तामा भने फिल्म प्रदर्शनको मारामार रहेकाले ‘बहाव’लाई टिक्न गाह्रो पर्नेछ । यद्यपि, सोलो रिलिजको अवसर पाउनु नै फिल्मका लागि सबैभन्दा ठूलो युद्ध जित्नु बाराबर हो । अब बक्सअफिसमा फिल्मले कस्तो बहाव ल्याउँछ, हेर्न बाँकी छ ।