२०७९ सालका यी १० चलचित्र, जसले बक्स अफिसमा पानी भन्न पाएनन्

बैशाख ०१, २०८०


काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको व्यापारिक तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार एक वर्षभरिमा ५२ वटा नेपाली र ८३ वटा विदेशी गरी १३५ वटा चलचित्र प्रदर्शन भएका छन्

बोर्डले प्रदर्शित चलचित्रमध्ये १३२ वटाको कमाइ सार्वजनिक गरेको छ । बोर्डको विवरणअनुसार नेपाली चलचित्र ‘कबड्डी ४-द फाइनल म्याच’ र विदेशीतर्फ कन्नड चलचित्र ‘केजीएफ च्याप्टर २’ ले यो वर्ष सर्वाधिक कमाइ गरे । ‘कबड्डी ४-द फाइनल म्याच’ले सात लाख ६६ हजार ७०० वटा टिकट बिक्री गरेर रु २१ करोड ३८ लाख १३ हजार ४६२ ग्रस व्यापार गरेको छ । ‘केजीएफ च्याप्टर २’ ले ६ लाख ७७ हजार ६९९ वटा टिकट बिक्री गरेर १९ करोड २९ लाख १३ हजार ७५८ रुपैयाँ ग्रस कमाएको छ ।

यी त भए वर्षको सर्वाधिक कमाइ गर्ने नेपाली र विदेशी चलचित्र । राम्रो व्यापार गर्ने चलचित्रहरुको प्रशंसा र चहलपहल भइरहन्छ । यो हुनु स्वाभाविक पनि हो । वर्षको अन्तिम दिन आएलगत्तै कुन चलचित्रले कस्तो कीर्तिमान राख्यो भनेर मिडियामा चर्चाहरु भइरहेकै छन् । यहाँ हामी ती १० चलचित्रको चर्चा गर्दैछौं, जसका निर्माताहरु रित्तो हात भए । एउटा चलचित्र निर्माण गर्न सालाखाला २ करोड लाग्छ । तर, केही चलचित्र यस्ता छन्, जसले हलहरुबाट ५ लाख पनि उठाएनन् । आउनुस् ती नै चलचित्रको चर्चा गरौं:

१) शिवानी

तथ्याङ्कअनुसार यस वर्ष प्रदर्शन भएका १३५ चलचित्रमध्ये ‘शिवानी’ सबैभन्दा कम व्यापार गर्ने चलचित्रहरुको शीर्ष स्थानमा परेको छ । बोर्डको विवरणअनुसार शिवानीको पाँच वटामात्रै टिकट बिक्री भयो, जसबाट चलचित्रले रु ५२० ग्रस कलेक्सन गर्‍यो । यस हिसाबले निर्माताको खल्तीमा करिब २०० रुपैयाँ पर्न जान्छ ।

भदौ २४ मा रिलिज भएको यस चलचित्रमा उत्तम विष्ट, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, निर्मल शर्मा, प्रशान्तकुमार यादव, उपेन्द्रप्रसाद खड्का, सोनु पौडेल, शिवानी खड्का, गोविन्द शाह, विजय सिंह, कौशल किशोर शाह, राजेशलाल भिकारी, मान मगर, वीरेन्द्र शाहलगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई रोनित विसुङ्खे र उपेन्द्रप्रसाद खड्काले निर्देशन गरेका हुन् ।

२) चोर र पुलिस

आरएल मोक्तानले निर्देशन गरेको ‘चोर र पुलिस’ यो वर्ष दोस्रो न्यून व्यापार गर्ने चलचित्र हो । चलचित्रले १०४ वटा टिकट बिक्री गरेर जम्मा रु. १८ हजार ७२५ ग्रस कलेक्सन गरेको छ ।

आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेको चलचित्र मंसिर २ गते रिलिज भएको थियो । चलचित्रमा बुद्धि तामाङ, धीरेन शाक्य, कविता राय, राजेन्द्र खड्गी, जयकिशन बस्नेत, जयनन्द लामा, सुलेमान शंकर (इकु), सुरवीर पण्डित, जानवी बस्नेत जस्ता चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

३) सरी मम

बक्स अफिसमा पानी भन्न नपाएको तेस्रो चलचित्र हो ‘सरी मम’ । चलचित्रले ११२ टिकट बिक्री भएवापत २३ हजार ७२७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।

नवीन बोगटीको निर्देशन र आयुष बुढाथोकीको लेखनमा तयार भएको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, प्रभात पाल, एलिस राई, प्रेबिल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, उनिशा बजगाईं, रेजिना मगर, सन्तोष बस्नेतलगायतका कलाकारले अभिनय गरेका छन् । जेसीआई सेन खेमराज अधिकारी र रोजिता तामाङले निर्माण गरेको चलचित्र पुस १७ गते देशभर रिलिज भएको थियो । तर, कहिले लाग्यो, कहिले उत्रियो, दर्शकले थाहै पाएनन् ।

४) आँधी तुफान २

मदन घिमिरेको निर्देशनमा तयार भएको ‘आँधी तुफान २’ सुपरफ्लप चलचित्रको चौथो नम्बरमा छ । चलचित्रको १४५ टिकट बिक्री भएबापत रु २८ हजार ४३९ को ग्रस कलेक्सन भएको छ ।

एक्सन जनरामा आधारित चलचित्रमा राखी गिरी, सञ्जय खतिवडा, सञ्जित भण्डारी, पुस्कर राउत, सोनी बिसी, यान्सु श्रेष्ठ, आरती आचार्य, काजी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतले अभिनय गरेका छन् । चलचित्रलाई मौनता श्रेष्ठले लेखन तथा निर्माण गरेकी हुन् ।

५) प्रेमा

भर्खरैमात्र रिलिज भएको चलचित्र प्रेमा पनि फ्लपको सूचीमा परेको छ । कलाकारहरु अरुण क्षेत्री, सृष्टि श्रेष्ठ र सुबेक्षा खड्का मुख्य भूमिकामा रहेको यो चलचित्रले प्रचारप्रसार राम्रै गरेको थियो । तर, दर्शक हलसम्म आइदिएनन् ।

चलचित्र ‘महापुरुष’ बाट राम्रो प्रशंसा पाएका अरुणले ‘प्रेमा’बाट धक्का खाएका छन् । चलचित्रले ३५१ वटा टिकट बिक्री गरी मात्र एक लाख १० हजार ७७३ रुपैयाँको ग्रस व्यापार ग¥यो । चैत १७ बाट रिलिज भएको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन् । प्रेम कथामा आधारित चलचित्रमा लेखन पनि भण्डारीकै छ ।

६) पासो

आरबी पुनको कथा, पटकथा, संवाद र निर्देशन रहेको चलचित्र ‘पासो’ यस वर्षको न्यून आम्दानी गर्ने चलचित्रको सूचीमा छैटौं स्थानमा छ । बाँच्नका लागि अनवरत संघर्ष देखाइएको चलचित्रमा रिस्ता बस्नेत, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशले अभिनय गरेका छन् ।

चलचित्रले ४३० टिकट बिक्री भएबापत १ लाख १८ हजार ९३३ रुपैयाँको ग्रस व्यापार गरेको छ । भगवान भुजेलले निर्माण गरेको चलचित्र मंसिर १६ गते रिलिज भएको थियो । यसै चलचित्रबाट सुनिशा बजगाईंले डेब्यु गरेकी थिइन् । सुनिशा हाँस्य टेलिश्रृंखला ‘तीतो सत्य’ बाट बाल कलाकारको रुपमा चिनिएका राज आचार्यकी श्रीमती हुन् । राजले गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ बाट आफ्नो अभिनय सुरु गरेका छन् ।

७) गुर्खा-बिनिथ द ब्रेभरी

निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा निर्माण भएको चलचित्र ‘गुर्खा-बिनिथ द ब्रेभरी’ ले पनि सोचेजस्तो सफलता हात पार्न सकेन । गोर्खालीको कथामा आधारित चलचित्रले दर्शकको मन जित्ने आशा थियो । तर, भदौ २४ बाट लागेको यस चलचित्रलाई दर्शकको साथ मिलेन । अन्ततः चलचित्रले ३९० वटा टिकट बिक्री गरी मात्र १ लाख ४३ हजार ३७३ ग्रस व्यापार गर्‍यो ।

एक दर्जनभन्दा धेरै कलाकार भएको यस चलचित्रलाई मधु गुरुङ र प्रयास गुरुङले निर्माण गरेका हुन् । प्रथम विश्वयुद्धका क्रममा स्वर्गीय सर्जेन्ट कुलवीर थापा, जो पहिलो गोरखा थिए, उनैको वास्तविक घटनाबाट प्रेरित चलचित्र हो, ‘गुर्खा-बिनिथ द ब्रेभरी’ । कुलवीर थापाले बेलायतको सर्वोच्च सैन्य सम्मान ‘भिक्टोरिया क्रस’ समेत पाएका थिए ।

८) घनचक्कर

असार १० गते प्रदर्शनमा आएको चलचित्र ‘घनचक्कर’ यस वर्षको सर्वाधिक कम कमाइ गर्ने चलचित्रको सूचीको आठौं स्थानमा छ । निर्देशक जितेन्द्र राजोपाध्यायको निर्देशन र करुणा अर्याल तथा संगम भट्टको निर्माणमा बनेको चलचित्रले १ हजार ६३ वटा टिकट बिक्री भएबापत २ लाख १४ हजार ५२५ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

भट्ट एन सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, कृष्णभक्त महर्जन, प्रवण भुसाल, जनक घर्ती मगर, दामोदर पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

९) सोल अफ द कमान्डो

नवौं स्थानमा परेको छ, युवराज राई निर्देशित चलचित्र ‘सोल अफ द कमान्डो- द रिर्टन अफ द लिजेन्ड’ । यो चलचित्रको नाम जति लामो थियो, हलमा यसको आयु त्यति नै छोटो भयो ।

मिलन राई, रवि थापा र धन लिम्बूले निर्माण गरेको चलचित्रले १ हजार ८८ टिकट बिक्री भएबापत २ लाख ४३ हजार ७८६ रुपैयाँ ग्रस व्यापार गरेको छ । भदौ २७ गते रिलिज भएको चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बू, शिशुका राई, मिलन राई, रवि थापा, एन्जल राईलगायतले अभिनय गरेका छन् ।

१०) लाइफ इन एलए

यस वर्षको सर्वाधिक कम कमाइ गर्ने फिल्मको दशौं स्थानमा परेको छ ‘लाइफ इन एलए’ । सूर्य एन श्रेष्ठले निर्देशन गरेको चलचित्रले १ हजार ११९ टिकट बिक्री गरी २ लाख ७२ हजार ४४७ रुपैयाँ ग्रस कसेक्सन गरेको छ ।

चलचित्रमा अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे, प्रवीण खत्री, जयन्द्र चिलुवाललगायतले अभिनय गरेका छन् । चलचित्रलाई राजेन्द्र ठाकुर्थीले निर्माण गरेका हुन् ।