खगेन्द्रको फिल्मबाट डेब्यू गर्दै दिलिपकी छोरी दिव्या

बैशाख ०४, २०८०


नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म क्षेत्रमा डेब्यू गर्ने भएकी छिन् । लामो समयदेखि दिव्याले फिल्म क्षेत्रमा डेब्यू गर्ने चर्चा चलेको थियो । तर, अब भने उनको फिल्म क्षेत्रमा डेब्यू पक्का भएको हो । रोहित अधिकारी फिल्मस्ले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टबाट दिव्याले डेब्यू गर्ने भएकी हुन् । तर, निर्माता रोहित अधिकारीले भने दिव्यासँग कुराकानी अगाडि बढेपनि कागजी संझौता भने भैनसकेको बताए ।

तर, श्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार दिव्याले फिल्मको वान लाइन स्टोरी मन पराइसकेकी छिन् । वान लाइन स्टोरी मन पराएपछि दिव्या फिल्ममा कागजी संझौता गर्न मे महिनाको अन्तिममा नेपाल आउँदैछिन् । यो फिल्ममा दिव्यासँगै नायक खगेन्द्र लामिछानेले काम गर्ने पनि पक्का भएको छ । फिल्मको कथा पनि खगेन्द्रले नै लेखिरहेका छन् ।

फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुरेन्द्रले फिल्म ‘आभाष, कृ र बाबरी’ निर्देशन गरिसकेका छन् । फिल्ममा अन्य केही कलाकारको पनि अभिनय रहनेछ । तर, खगेन्द्र र दिव्या बाहेक अरु कलाकार भने फाइनल नभएको श्रोतले बतायो ।रोहित अधिकारीले गाजलु, छ माया छपक्कै, जस्ता सफल फिल्म बनाइसकेका छन् । तेश्रो प्रोजेक्टलाई अझै बलियो बनाउने उनको तयारी छ ।