सरोज खनालको ‘बगान’ तेश्रो हप्तामा

साउन १२, २०८०


देशभर उल्लेख्य शो सङ्ख्यासहित नेपाली चलचित्र ‘बगान’ ले तेश्रो हप्ताको यात्रा तय गरेको छ । नेपाली चलचित्र हेर्न हलमा दर्शकको उपस्थिती न्यून भएको समय रिलिज भएको यो चलचित्रले भने सुखद नतिजा निकालिरहेको छ । निर्माताले गत रिलिजको दश दिनमा ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेका थिए । हालसम्म यो चलचित्रले एक करोड नजिकको ग्रस कलेक्शन गरेको छ ।

फजुल खर्च नगरी बनाइएको यो चलचित्र पछिल्लो समय बनिरहेका चलचित्र जस्तो ठुलो बजेटको होइन । यो चलचित्रको नेपाल रिलिजको कलेक्शन र विदेश रिलिजको तयारी हेर्दा लगानी रिकभरीलाई कुनै समस्या देखिदैन । भारतमा पनि यो चलचित्र रिलिजको तयारी छ भने अमेरिका र अन्य देशहरूमा पनि ’बगान’ रिलिजको तयारी छ । सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’ का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।