अभिनेता अनमोल केसी पक्राउ

असोज १३, २०८०


अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन् ।

उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन् । पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौं, एसएसपी राठौरेले भने, पटक-पटक बोलाउँदा पनि केसी आउनुभएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनुभयो । केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको राठौरले जानकारी दिए।