दाङमा खुल्यो पहिलो मल्टिप्लेक्स ‘भिएफएक्स सिनेमा’ हल

असोज १९, २०८०


आश्विन १९, दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिन सहित चार सय बाह्र सिट क्षमता सहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं.८ नारायणपुर स्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा.ली.ले हल सञ्चालनमा ल्याउन लागेको हो । घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर स्थापना गरिएको हो ।

विजय रावत प्रबन्ध निर्देशक र चेतन जङ्ग राना अध्यक्ष रहने गरी संयुक्त लगानीमा तयार भएको हलको औपचारिक उद्घाटन यही असोज २६ गते गरिने तयारी भएको छ । नेपाली चलचित्र ‘परदेशी-२’ प्रदर्शन गर्दै हल सुरुवात हुने र सो दिन हलमा लाग्ने अन्य सबै स्वदेशी तथा विदेशी चलचित्रहरू पनि प्रदर्शन गरिने हलमा प्रबन्ध निर्देशक रावतले बताउनुभयो । जग्गा सहित करिब २० करोड लगानीमा हल तयार भएको हो । रावतले दाङमा आवश्यकताकै आधारमा हल सुरु गरेको बताउनुभयो ।

नेपाली चलचित्रको व्यवसायको हिसाबले दाङ पहिले देखि नै अगाडी रहँदै आएको छ । अन्य स्थानहरूमा प्राविधिक रूपमा सम्पन्न मल्टिप्लेक्स हलहरू सञ्चालनमा आइसक्दा पनि दाङमा सुरु भएको थिएन । हामीले भिएफएक्स ब्रान्डलाई मल्टिप्लेक्स चेनको रूपमा देशव्यापी विस्तार गर्दैछौँ । दाङ पछि काठमाडौँमा हल खोलिने र त्यस पछि देशैभर विस्तार गरिने योजना रहेको हलका प्रबन्ध निर्देशक विजय रावतले बताउनुभयो ।