यो बर्ष विपिनका चार फिल्म: दुई फ्लप, एक हिट, अर्को के होला ?

कार्तिक १३, २०८०


कार्तिकको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ ले बक्स अफिसमा बिष्फोटक व्यापार गर्यो । दशैंको बिदाको फाइदा फिल्मले भरपुर उठाएको छ । यो फिल्म सुपरहिट भएपछि यसका मुख्य नायक विपिन कार्कीलाई निकै फाइदा भएको छ । यसअघि रिलिज भएका २ फिल्मको व्यापारिक असफलताले विपिनलाई समस्या भएको थियो । तर, यसपटक दशैंले उनको समस्या टारिदिएको छ । विपिनको लाइनअपमा अब ३ वटा फिल्म छन् । जसमध्ये, उनले सुरुवातमा फिल्म ‘महाजात्रा’को छायांकन सुरु गर्दैछन् । यो फिल्मलाई प्रदीप भट्टराइले निर्देशन गर्दैछन् ।

फिल्मको प्रदर्शन मिति चैत्र ९ गतेलाई तोकिएको छ । यसैले, यो बर्ष विपिनका ४ वटा फिल्म रिलिज हुने पक्का भएको छ । यस्तै, विपिनको समयको पर्खाइमा निर्माता रामप्रसाद रिजाल पनि छन् । उनले, बेलायतमा खिच्न लागेको फिल्म ‘काजी’को शिर्ष भूमिकामा विपिन नै छन् । यस्तै, विपिनले नायिका मिरुना मगरसँग काम गर्ने गरि फिल्म ‘उनको स्विटर’ पनि साइन गरेका छन् । यो बर्ष २ वटा फ्लप फिल्म दिएका विपिनले एउटा सुपरहिट फिल्म बजारमा दिइसकेका छन् । यस्तै, फिल्म ‘महाजात्रा’ले पनि बिष्फोटक व्यापार गर्ने अनुमान लगाइएको छ । समग्रमा हेर्दा, विपिन कार्कीका लागि यो बर्ष सुखद हुने देखिएको छ ।