धमाधम ‘कमब्याक’ गर्दै पुराना स्टार

माघ १८, २०८०


२०८० माघ १८, मंगलबार फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ घोषणा भयो । फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै घोषणा भएको फिल्ममा अभिनेता सलिनमान बनियाँको पनि मुख्य भूमिका रहनेछ । बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । ‘ए मेरो हजुर २’ र ‘यात्रा’ अभिनयपछि फिल्म क्षेत्रमा डिमान्डको हिरो भएका उनी ‘यात्रा’पछि भने फिल्मबाट आफूलाई टाढा बनाएका थिए ।

सलिनमान मात्र होइन, अहिले थुप्रै पुराना स्टार कलाकार फिल्ममा ‘कमब्याक’ गर्दैछन् । कतिले कमब्याकका लागि फिल्ममा अभिनय गरिसके भने कोही अभिनयको तरखरमा छन् । यतिबेला नेपाली फिल्ममा कमब्याकको सिलसिला नै चलिरहेको छ । अभिनेता राजवल्लभ कोइराला, उत्तम प्रधान, अभिनेत्री पूजा चन्द, विपना थापा, ऋचा घिमिरेदेखि रेजिना उप्रेतीसम्म कमब्याक गर्दैछन् ।

अभिनेता राजवल्लभ कोइराला ‘अक्टोर’ बाट फिल्ममा कमब्याक गर्ने भएका छन् । प्रदीप खड्का र आना शर्माको मुख्य भूमिका रहने फिल्म राजन भुसालले निर्देशन गर्न लागेका हुन् । थमनकुमार भण्डारीको लगानी रहने फिल्मका सह–निर्माता एनिस भुसाल र सार्थक केसी हुन् । फिल्म सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । राजवल्लभ फिल्म ‘पर्खी बसे’का कारण चिनिन्छन् ।

त्यस्तै पूजा चन्द फिल्म ‘भूठान’ मार्फत कमब्याक गर्दैछिन् । विनोद पौडेलको निर्देशनमा फिल्म अमेरिकाको ओहायो राज्यमा छायाङ्कन भैरहेको छ । हरिवंश आचार्य र दयाहाङ राईको समेत मुख्य भूमिका रहने फिल्ममा हलिउड स्टार ब्रुस डर्नले पनि अभिनय गर्दैछन् । एक समयकी लोकप्रिय अभिनेत्री पूजाले आवारा, बरपिपल, खेलौना लगायत दर्जनौँ फिल्ममा काम गरेकी छन् ।

उत्तम प्रधान पनि फिल्म ‘म्याउँ’बाट कमब्याक गर्दैछन् । जयराज रायको निर्देशन रहने गत माघेसंक्रान्तिमा घोषणा भएको फिल्ममा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्म समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा बन्न लागेको हो । ‘दर्पण छाया’बाट अभिनयमा डेब्यु गरेका उत्तमको ‘लहना’, ‘बसाई’ लगायत फिल्म दर्शकले रुचाएका थिए ।

यस्तै अभिनेत्री ऋचा घिमिरे फिल्म ‘तेल भिसा’ मार्फत कमब्याक गर्दैछिन् । निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्मबाट उनी १० वर्षपछि अभिनयमा फर्किन लागेकी हुन् । विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका रहने फिल्मको आगामी वर्षको भदौ २८ गतेलाई प्रदर्शन मितिसमेत घोषणा गरिएको छ । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं ‘तेल भिसा’को निर्मातामा रहेका छन् । ऋचाले पनि थुप्रै फिल्म तथा सिरियलमा काम गरेकी छन् ।

अभिनेत्री विपना थापाले पनि कमब्याक गर्ने भएकी छन् । उनी अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ मार्फत कमब्याक गर्न लागेकी हुन् । केही अगाडि फिल्मको छायाङ्कन सकिएको छ । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । फिल्म छिट्टै रिलिज हुनेछ । फिल्म ‘वरमाला’का सहायक निर्माता तथा भारतीय नागरिक आशुतोष भारद्वाजसँग २०६४ मा बिहे गरेर भारतको मथुरा बसाइँ सरेकी विपना त्यसपछि फिल्मबाट टाढा रहँदै आएकी थिइन् । बेलाबेलामा काठमाडौँ आइरहने उनी उचित भूमिका र ब्यानरको पर्खाइमा थिइन् । ‘ह्रस्व दीर्घ’ ले त्यो अवसर दिलाएको उनको भनाई छ ।

अभिनेत्री रेजिना उप्रेती फिल्म ‘मोदिबेनी’बाट अभिनयमा फर्किँदैछिन् । करिब ९ वर्षअघिको ‘वरदान’ पछि फिल्मबाट बाहिर रहेकी उनको अभिनय रहने ‘मोदिबेनी’ मंगलबार शुभमुर्हूत भएको छ । फिल्ममा उनको अमर प्रताप श्रेष्ठसँग रोमान्स रहनेछ । फिल्म शंकर कोइरालाले निर्देशन गर्दैछन् । फिल्ममा रेजिना र अमरसँगै सरोज खनाल, दिलीप केसी, केकी अधिकारी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायत कलाकारको अभिनय रहनेछ ।

फेरि जम्न चुनौती
एक समय अभिनयमा राम्रो जमेका कलाकार पुनः अभिनयमा फर्किनु सकारात्मक हो । यस अगाडि पनि सरोज खनाल, रमेश उप्रेती, बिराज भट्ट, दिलीप रायमाझी, करिस्मा मान्नधर लगायत थुप्रै कलाकारको कमब्याक भएको छ । कमब्याक गरेकाको अहिलेको करियर हेर्दा कमब्याक राम्रो भएको देख्न सकिन्न । कमब्याकपछि कलाकारले अभिनय कम र अन्य काम बढी गरेको देखिन्छ । अभिनेता सरोज खनाल कमब्याकपछि अभिनयभन्दा व्यवसाय र फिल्म निर्देशनमा क्रियाशील छन् । सरोज निर्देशित फिल्म ‘बगान’ केही अगाडि रिलिज भएको थियो ।

अभिनेत्री करिस्मा मानन्धरको कमब्याकपछि अभिनयभन्दा बढी राजनीति र व्यवसायको कारणले मिडियामा छाएकी छन् । अभिनेता रमेश उप्रेतीको कुरो पनि त्यस्तै छ । ‘ब्रासलेट’बाट कमब्याक गरे पनि त्यसपछि ‘ऐश्वर्य’ मा मात्र अभिनय गरे । अहिले भने उनी राजमहल अभिनय गर्दैछन् । अभिनेता बिराज भट्टको पनि कमब्याक त्यस्तै भयो । कमब्याक फिल्म ‘जय परशुराम’ असफल भएपछि ‘साङ्लो’ मार्फत निर्देशनमा देखिए । तर ‘साङ्लो’ पनि राम्रो हुन सकेन । अहिले उनी छोरा समीर लिएर फिल्म ‘१२ गाउँ’ बनाउँदैछन् । दिलिप रायमाझीको हालत पनि त्यस्तै छ । त्यसैले पुराना स्टार भएपनि अभिनयमा कमब्याक चुनौती नै देखिएको छ । लामो समयपछि अभिनयमा फर्किएका कारण कमब्याक चुनौतीपूर्ण भएको अभिनेता रमेश उप्रेती बताउँछन् ।

‘हाम्रो समयको भन्दा अहिले दर्शकको फिल्म प्रतिको सोच फेरिएको छ, उप्रेतीले भने ‘पछिल्लो समयको बजारको माग अनुसार हामी फरक भएको पनि होला । पहिले दालभातका लागि जस्तो पनि फिल्म खेलेको बताएका उप्रेतीले अहिले राम्रो फिल्म अभिनय मात्र गर्न खोजेको सुनाउँछन् । कलाकारको कमब्याकलाई राम्रो भन्छन् कलाकार रवीन्द्र खड्का । उनी पनि कमब्याक भएपनि फेरि जम्न चुनौती रहेको बताउँछन् । ‘पहिलाको अभिनय र अहिलेको अभिनयमा धेरै परिवर्तन आएको छ, खड्काले भने ‘उहाँहरू गएपछि ट्रेन्ड चेन्ज भएको छ । प्राविधिक हिसाबमा पनि धेरै फेरिएकोले फेरि जम्न चुनौती रहेको खड्का सुनाउँछन् ।