संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स्’ अवार्ड प्रदान

माघ २९, २०८०


दाङ, माघ २८ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित हुनुभएको छ । भारतको रड्कीस्थित कोर विश्वविद्यालयले उपकुलपति प्रा.डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स् अवार्ड–२०२४’ बाट सम्मानित गरेको हो ।

शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो । विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । ‘विश्वविद्यालय तपार्इँको उल्लेखनीय उपलब्धिहरू र शिक्षाको क्षेत्रमा असाधारण योगदानका लागि हार्दिक बधाइ र गहिरो प्रशंसा गर्दछ’ सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘शिक्षामा तपाईँको प्रभावशाली भूमिका, साथै भारत ज्ञान कार्यक्रम–२०२४ मा पावर स्पिकरका रूपमा तपाईँको प्रभावकारी भूमिका साँच्चै प्रशंसनीय छ ।

चार दशक प्राध्यापन र लेखनमा बिताउनुभएका प्रा. डा. लामिछाने नेपाली भाषा, साहित्य र बाङ्मयका ज्ञाता हुनुहुन्छ । चार दशक त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय शिक्षण गर्नुभएको प्रा.डा. लामिछाने विगत साढे ३ वर्षदेखि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ ।