चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला सुरु

फागुन ०६, २०८०


चलचित्र पत्रकारको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौँडामा सुरु भएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल स्थापनाको २५ औँ वर्ष पूरा भएको अवसरमा सङ्घ मकवानपुरको समन्वयमा आयोजित कार्यशालामा चलचित्र र चलचित्र पत्रकारिताको विविध आयामहरूमाथि छलफल हुने बताइएको छ ।

भेलाको आइतबार हेटौँडामा उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले चलचित्र हाम्रो संस्कृति, परम्परा र पहिचानसँग जोडिएको बताउनुभयो । चलचित्र क्षेत्रको विकासमा स्थानीय तह सहयोग गर्न तयार रहेको बताउँदै हामी सबैले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउनुभयो । 

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभावबिच बोर्डले काम गरिरहेको बताउँदै चलचित्र क्षेत्रको विकासका लागि समयानुकूल चलचित्रसम्बन्धी ऐन आवश्यक भएको बताउनुभयो । 

चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, चलचित्र निर्माण नरेन्द्र महर्जन, चलचित्रकर्मी सुशान्त श्रेष्ठ, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम, पत्रकारहरू रामकुमार एलन, विदुर गिरी, कुबेर गिरी, सञ्जु राई, प्रकाश दाहाल लगायतले बोल्नुभएको थियो । 

राष्ट्रिय भेला तथा कार्यशालामा सिनेमा संवाद, नेपाली चलचित्र, चलचित्र पत्रकारिता लगायतका विषयको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । भेलामा चलचित्र पत्रकार सङ्घका १३ शाखाका प्रतिनिधिसँगै कलाकारको सहभागिता छ ।