दोस्रो तुलसीपुर महोत्सवको तयारी पूरा
तुलसीपुर, ३० माघ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तारू भन्ने मुल नाराका साथ दोस्रो तुलसीपुर महोत्सव-२०८१ भोलि फागुन १ गतेदेखि १६ गतेसम्म तुलसीपुरमा सञ्चालन हुन लागेको हो ।
आज पत्रकारहरुलाई मेलाको अन्तिम तयारीका बारेमा जानकारी दिँदै चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले मेलाको व्यवस्थापन तथा कार्यक्रमबारे जानकारी गराएका छन् । महोत्सवका मुख्य उद्देश्य व्यापार व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन, नयाँ प्रतिभा खोजी, औद्योगिक व्यापार प्रवर्द्धन, अटोमोबाइल्स र सूचना प्रविधिको प्रदर्शनी, वित्तीय तथा सेवामूलक संस्थाहरूको जानकारी आदिलाई प्राथमिकता दिइएको छ।
महोत्सव अवधिभर विभिन्न जातजातिका परिकार समेटिएको फूड फेस्टिभल, स्थानीय कलाकारहरूको प्रस्तुति, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू, हस्तकला प्रदर्शन एवं विक्रीजस्ता कार्यक्रमहरू सञ्चालन गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । व्यापार व्यवसाय प्रवर्द्धनका लागि स्थानीय व्यवसायीलाई विशेष सहुलियत दिने योजना महोत्सव आयोजक समितिले बताएको छ। साथै, महोत्सवबाट संकलित केही रकम विभिन्न सामाजिक कार्यहरूमा लगानी गरिने र केही रकम संस्थाको क्षमता अभिवृद्धिमा खर्च गरिने संयोजक भण्डारीले जानकारी दिए ।
दैनिक बिहान ११ बजेदेखि महोत्सवका नियमित गतिविधिहरू सञ्चालन गरिनेछन् । महोत्सवको समापन फागुन १६ गते दिउँसो ४ बजे गरिनेछ । आयोजक समितिले महोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गर्न आम सञ्चारकर्मीहरू लगायत सम्पूर्ण स्थानीयवासीको साथ र सहयोगको अपेक्षा राखेको छ। महोत्सवको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले गर्ने आयोजकले बताएको छ । भोलि बिहान ११ बजे तुलसीपुरको नयाँ बसपार्कबाट झाँकी तथा शोभायात्रा सुरु भई दिउँसो १ बजे औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न हुनेछ ।
कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष टोप बहादुर घर्तीले मेलालाई व्यवस्थित र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको उनले बताए । मेलालाई भव्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सबै तह तप्काका व्यक्तिहरुले साथ सहयोग गर्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रेस सल्लाकार गोपाल शर्मा भट्टराईले गरेका थिए ।






