ज्ञान ज्योति स्कूलमा ताराबाजी लै लै कार्यक्रम

फागुन ०५, २०८१


फागुन ५, तुलसीपुर । तुलसीपुर-६ बरुवागाउँस्थित ज्ञान ज्योति स्कूलमा ताराबाजी लै लै कार्यक्रम सम्पन्न भएको छ । “वाल्यकाल तर्फ फर्केर हेरौँ” भन्ने अवधारणा बोकेको उक्त कार्यक्रममा अभिभावकहरुले आफ्नो पालाका वालगीत, वालकविता, वालकथा तथा आफ्नो वाल्यकालका अविष्मरणीय संस्मरणहरु सुनाउनुका साथै आफूले सानोमा खेल्ने गरेका खेलहरु पनि खेलेर देखाउनु भएको थियो ।

उक्त कार्यक्रममा अभिभावकहरुले मौलिक साँस्कृतिक पहिरनमा सजिएर एकल तथा सामूहिक नृत्य प्रस्तुत गर्नुका साथै आफ्नो पालाका चर्चित लोकगीतहरु पनि गाउनु भएको थियो । कार्यक्रममा अत्यन्त उत्साहित देखिनुभएका अभिभावकहरुले उपस्थित सबैलाई आफैँले घरमै बनाएको खाजा खुवाउनु भएको थियो । कतिपयले आफ्ना नानीबाबुहरुसँगै साँस्कृतिक पहिरनमा स्टेजमा क्याटवाक समेत गर्नुभएको थियो ।

ज्ञान ज्योति माध्यमिक विद्यालयका शैक्षिक प्रमूख प्रमोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार के.सी.ले पानसमा दीयो बालि उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक राकेश डाँगीले गर्नुभएको थियो । कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै शैक्षिक प्रमूख सुवेदीले यस्ता कार्यक्रमले विद्यालयलाई घरसँग, वालवालिकालाई अभिभावकसँग र वर्तमानलाई विगतसँग जोड्ने बताउनुभयो ।