फिल्म “द्रोपदी”ले कर्णालीकाे मौलिक कथावस्तुलाई उठान गरेकाे छ : निर्देशक आचार्य

फागुन २९, २०८१


दाङ, २९ फाल्गुन । कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्वपूर्ण पात्र द्रोपदीको जीवन र संघर्षलाई आधार बनाएर बनेको फिल्म “द्रोपदी” आगामी चैत्र ८ बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म “द्रोपदी”ले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको छ । डोल्पाको शे फाेक्सुन्डाे ताल लगायतका कर्णालीका आकर्षक लाेकेसनमा छायांकन गरिएको फिल्ममा महिला संवेदनाकाे कथावस्तुमा फिल्मले कर्णालीकाे मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेकाे छ ।

निर्देशक आचार्यले फिल्मको माध्यमबाट कर्णालीलाई चिनाउने र कर्णालीको सुन्दरता विश्व बजारले हेर्न पाउने बताउनुभयाे । नेपाली फिल्म प्रति दर्शकको माया र चासोलाई यसले निराश तुल्याउँदैन । लामो समयको अध्ययन र अनुसन्धानपछि फिल्म बनेको हो, चलचित्रको कथा र पात्रहरूले वास्तविक नेपाली फिल्मको स्वाद पाउनेछन् ।

कार्यक्रममा चलचित्रका निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले ‘द्रोपदी’ कर्णालीको दुर्गम भेगको कला, संस्कृति, भाषा, परम्परा तथा त्यहाँको जनजीवनको पीडालाई उजागर गर्ने कथामा आधारित रहेको बताउनुभयो । फिल्ममा नयाँ अनुहार मात्र नभई, बलियो सामाजिक सन्देश बोकेको कथावस्तु समेटिएको छ । चलचित्रले विशेष गरी कर्णालीको मौलिकतामा केन्द्रित रही त्यहाँको वास्तविकता चित्रण गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल, दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका अभिनेता तथा गायक रवि ओडले संगीत सँगसँगै अभिनयलाई पनि आफूले अगाडि बढाएको र द्रौपदीबाट नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री गरेको बताए । वर्डले कर्णालीकै एक पात्रको भूमिका निर्वाह गरेको छु र फिल्मले अर्गानिक कथावस्तु उठाएको बताए जसरी गीत संगीतमा सबैको साथ र माया पाए त्यसैगरी चलचित्रबाट पनि आम दर्शकको माया पाउने विश्वास व्यक्त गरे। चलचित्रको शीर्ष गीत कर्णाली काटौला लाई जसरी दर्शकहरूले माया गरि राख्नुभएको छ त्यसरी नै फिल्मलाई पनि माया गर्नुहुनेछ ।

कार्यक्रममा फिल्मका अभिनेत्रीहरु सुजता तिमिल्सीना, अश्विनि शाही लगायतकाले चलचित्र राम्रो बनेको र कर्णालीको मौलिक कथावस्तु उठाएकाले आम दर्शकहरूले चलचित्र रुचाउने बताए । चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजक शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव निरला अर्याल गैरेले गर्नुभएको थियो ।