शान्तिनगरको बजेट करिब ४९ करोड विनियोजित

असार १०, २०८२


पालिकाभित्रका नागरिककाे २० युनिटसम्मकाे विद्युत महसुल शान्तिनगर गाउँपालिकाले बुझाइदिने !

दाङ १०, शान्तिनगर गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको छ । पालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट पनि सार्वजनिक गरेको छ ।

पालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले आगामी आर्थिक वर्षका लागि ४८ करोड ९८ लाख ५३ हजार ३ सय ३७ रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । जसमा चालु खर्चतर्फ कूल बजेटको ६६.२२ प्रतिशत र पूँजिगत खर्चतर्फ ३३.७८ प्रतिशत बजेट विनियोजन गरिएको छ । पालिकाले आर्थिक वर्ष २०८१÷०८२ भन्दा करिब साढे ४ करोड रुपैयाँबढी बजेट ल्याएको छ ।

पालिकाले ल्याएको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ६१ लाख छुट्याइएको, गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ३ करोड, संघ प्रदेश तथा अन्य निकायसँग समपुरकमा साझेदारी तथा महत्पूर्ण रणनीतिक योजनाहरुका लागि २ करोड ५० लाख, सामाजिक विकासतर्फ ३ करोड ५८ लाख, पूर्वाधार विकासतर्फ २ करोड ४० लाख, आर्थिक विकासतर्फ ३६ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कृषि तथा पशु उद्यमशिलता विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिन १ करोड १० लाख, विपत् व्यवस्थापन कोषतर्फ २० लाख, वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड ५० लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २४ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै पालिकाले मंगलबार नै नीति तथा कार्यक्रम पनि ल्याएको छ । पालिकाले ल्याएको नीतिले शिक्षा तथा खेलकूदको क्षेत्रमा ठूलो टेवा पुग्ने देखिन्छ । शिक्षालाई प्रवद्र्धन गर्न पालिकाले शान्तिनगर गाउँपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने विद्यार्थीमध्य कसैले चिकित्साशास्त्र (डाक्टर) तथा पाइलट अध्ययन गर्न चाहेमा पालिकाले निश्चित मापदण्डका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने, खेलकूदप्रति युवा आकर्षण बढाउन पालिकाभित्र राष्ट्रियस्तरको खेलाडी भए मासिकरुपमा प्रोत्साहन भत्ता उपलब्ध गराउनेदेखि पालिकाभित्रका नागरिकले २० युनिटसम्म विद्युत खपत गरेमा पालिकाले नै विद्युत महसुल बुझाइदिनेलगायतका विषयलाई नीति तथा कार्यक्रममा समेटेको छ ।