गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्का साथ लमहीमा ज्ञान ज्योति

असार १६, २०८२


आषाढ १६ देउखुरी । शिक्षाको पहुँच विस्तार गर्ने अभियानमा रहेको ज्ञान ज्योति फाउण्डेशनले देउखुरीको लमहीमा ‘ज्ञान ज्योति मोडल स्कुल’ सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमै राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्का साथ लमहीबाट ‘ज्ञान ज्योति मोडल स्कुल’ सञ्चालनमा ल्याएको फाउण्डेशनका सिईओ सुरेन्द्र जिसीले जानकारी दिए ।

लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी क्षेत्रका अभिभावको मागलाई मध्यनजर गरेर लमहीबाट व्यवस्थित विद्यालय सञ्चालनमा ल्याएको जिसीले जानकारी दिए । तुलसीपुर–७ बम्नैबाट शैक्षिक यात्रा सुरु गरेको फाउण्डेशनले जिल्लाका प्रमुख बजारहरुमा विद्यालय सञ्चालनमा ल्याएको उनले बताए ।

“शैक्षिक सञ्जाल विस्तार गर्दै लैजाने फाउण्डेशनको लक्ष रहेको छ । देउखुरीका अभिभावक र विद्यार्थीको मागअनुसार हामीले लमहीमा सञ्जाल विस्तार गरेका हौं । अब विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुन्छ”, सिईओ जिसीले भने, “हामी देशभरका उत्कृष्ट सात माविमा पर्न सफल भएका छौं । गुणस्तरिय शिक्षा हाम्रो प्रमुख पहिचान हो । देउखुरी क्षेत्रका विद्यार्थीहरुलाई हामीसँग जोडिन आग्रह गर्दछु ।

विद्यालयका प्रिन्सिपल राजु यादवका अनुसार, “लमहीमा सञ्चालनमा आउने मोडल स्कुलले प्लस टु तहमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकाय सञ्चालन गर्ने तयारी पूरा गरिसकेको छ ।” उनले विद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षण पद्दति, अनुभवी शिक्षक समूह र प्रविधियुक्त शिक्षण प्रणाली लागू गरिने जानकारी दिए ।

यसअघि फाउण्डेशनले तुलसीपुर, बिजौरी, बागमारे, गोलौरा, नारायणपुर लगायतका स्थानमा विद्यालय सञ्चालन गर्दै आएको छ । लमहीमा सञ्चालित मोडल स्कुलले ग्रामीण क्षेत्रमा गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुखी शिक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यस विस्तारसँगै ज्ञान ज्योति फाउण्डेशनले शैक्षिक सेवालाई अझै सुदृढ बनाउँदै देशका ग्रामीण भूगोलसम्म शिक्षाको ज्योति फैलाउने यात्रालाई गति दिएको छ । आधुनिक प्रविधियुक्त शिक्षण प्रणाली, अनुशासित र प्रयोगात्मक सिकाइ वातावरण, तथा स्थानीय सन्दर्भअनुसारको शिक्षण पद्धतिले लमहीको विद्यालयलाई पनि राष्ट्रिय स्तरमा विशिष्टता दिलाउने आशा गरिएको छ ।

मुलुकका उत्कृष्ट सात माविमा ज्ञान ज्योति

एजुकेशन समाचारले २०८२ सालमा प्रकाशित देशका उत्कृष्ट माध्यमिक विद्यालयहरूको सूचीमा ज्ञान ज्योति माध्यमिक विद्यालय सातौं स्थानमा परेको छ । भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, बोर्ड नतिजा, स्थापना वर्ष र पिपुल्स पर्सेप्सनलाई आधार मानी गरिएको मूल्याङ्कनमा देशका ४ हजार ७ सय ४१ माविमध्ये सातौँ स्थानमा पर्न सफल भएको हो ।

लगातार दुई वर्ष ४८० विद्यार्थी सहभागी गराउने र उत्कृष्ट नतिजा दिँदै आएको ज्ञान ज्योतिले अब्बल स्थान सुरक्षित गरेको हो । शिक्षामन्त्रालयबाट उत्कृष्ट माविको उपाधि पाएको विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायसहित स्नातक तथा स्नातकोत्तर तहमा पनि अध्ययन व्यवस्था गर्दै आएको छ ।