ओपन स्पिच कम्पिटिसनको उपाधि आदर्श एकेडेमी तुलसीपुरलाई

भदौ ०४, २०८२     सन्ताेष के॰सी॰


भाद्र ४ तुल्सीपुर, ज्ञान ज्योति फाउन्डेसनद्वारा सञ्चालित आदर्श एकेडेमी तुलसीपुर दाङले ओपन अनलाइन स्पिच कम्पिटिसन २०८२ को उपाधि प्राप्त गरेको छ ।

द राइजिङ युथ नेटवर्कको आयोजनामा आज तुलसीपुरमा भएको ओपन अनलाइन स्पिच कम्पिटिसन २०८२ को उपाधि आदर्श एकेडेमी तुलसीपुर दाङकी छात्रा अपेक्षा रेग्मीले प्राप्त गर्नुभयो ।

विद्यार्थीहरूले आफ्नो बौद्धिकता प्रदर्शन गर्दै उत्कृष्ट नतिजा सहित विभिन्न चरणहरू पार गर्दै अन्तिम अर्थात् लाईभ स्ट्रीम राउन्डमा आफ्नो नाम सुरक्षीत राख्दै छात्रा अपेक्षा रेग्मीले प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल बसन्त टण्डनले जानकारी दिनुभयाे ।

त्यस्तै द्वितीय स्थान पनि आदर्श एकेडेमी तुलसीपुरकी छात्रा शिखा वलीले प्राप्त गर्नुभएको छ भने तृतीय स्थान मावि कालाखोलाका भुपेन्द्र न्यौपानेले प्राप्त गर्नुभयो । कार्यक्रममा अन्तिम चरणमा प्रवेश गर्ने ६ जना विद्यार्थी भाइबहिनीहरूलाई आदर्श एकेडेमी तुलसीपुर दाङ सँगको सहकार्यमा पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

द राईजिङ युथ नेटवर्कका संयोजक डिल्लीराज वलिको अध्यक्षता तथा सामाजिक अभियन्ता, बालरोग विशेषज्ञ डा. किशोर खत्रीको प्रमुख आतिथ्यता एवं मेट्रो कलेजका प्रमुख वसन्त आचार्यको विशिष्ट अतिथितामा भएको कार्यक्रमको सहजीकरण द राईजिङ युथ नेटवर्कका कार्यक्रम संयोजक इन्द्र बहादुर खत्रीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख डा. किशोर खत्रीले युवा एकता र युवा सशक्तीकरणको लागी द राईजिङ युथ नेटवर्कले सुरु गरेको अभियानले सार्थकता पाएको बताए । साथै उहाँहरुले यस्ता खाले कार्यक्रमको थप उचाइ दिन सबैले साथ दिनुपर्ने कुरा प्रष्ट पारे । विभिन्न विशिष्ट ब्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम ज्ञान ज्योति फाउन्डेसनको सभाहलमा सम्पन्न भएको थियो ।

कार्यक्रमका अध्यक्ष वलीले द राईजिङ युथ नेटवर्कद्वारा देशभरका सक्षम र सकारात्मक सोच बोकेका परिवर्तन चाहने युवाहरूलाई एकताबद्द गरि समाजमा ब्याप्त समाजिक, आर्थिक, राजनैतिक, मानसिक लगाएत सबै खाले समस्याको समाधान खोज्ने गरि आगामी दिनमा गृहकार्य गर्ने बताए ।