मतदाता भेटघाटसंगै सुझाव लिँदै उम्मेदवार किरणकिशोर घिमिरे

माघ २०, २०८२


दाङ, १९ माघ । दाङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न मतदाता भेटघाट तथा छलफलमा सक्रिय देखिएका छन् । यसैक्रममा दाङ क्षेत्र नं.२ बाट नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले प्रचार–प्रसारको कार्यलाई तीव्र बनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन तथा आफ्ना योजनाहरू प्रस्तुत गर्दै अघि बढेका छन् ।

उम्मेदवार घिमिरेले निर्वाचन क्षेत्र अन्तर्गत मतदाता भेटघाट, चुनावी सम्पर्क कार्यालय स्थापना, मतदाताका गुनासा सुन्ने तथा विकासका योजनाबारे छलफल गर्ने कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसैक्रममा सोमबार उनले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–१६, १७ र १८ का स्थानीयसँगको भेटघाटका क्रममा स्थानीयले भाषण र आश्वासनभन्दा व्यवहारिक विकास आवश्यक रहेको बताएका थिए । तुलसीपुर उपमहानगरपालिका–१८ निवासी खिमा घर्तीले भनिन्, “निर्वाचनका बेला आश्वासन मात्रै होइन, जनतालाई दुःख पर्दा साथ दिने र वास्तविक विकास गर्ने नेताको आवश्यकता छ ।

”मतदाता भेटघाट तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका क्रममा स्थानीयले विगतमा धेरै आश्वासन सुने पनि अपेक्षित विकास हुन नसकेको गुनासो व्यक्त गरेका थिए । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता अझै अधुरै रहेको उनीहरूको भनाइ थियो । स्थानीयका गुनासा सुनेपछि उम्मेदवार घिमिरेले नागरिकका समस्यालाई गम्भीरतापूर्वक लिएको बताउँदै जनताको आवश्यकता अनुसार विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले व्यक्तिगत रूपमा समाधान गर्न सकिने समस्याहरू तत्काल सम्बोधन गरिने र ठूला विकास निर्माणका कामका लागि केही समय आवश्यक पर्ने स्पष्ट पारे । आफू भाषणका लागि होइन, जनताको सुख–दुःखमा साथ दिन आफ्नो व्यवसाय छोडेर राजनीतिमा आएको उल्लेख गर्दै उम्मेदवार घिमिरेले फागुन २१ गते हुने निर्वाचनमा सहयोग र समर्थन गर्न मतदातासँग आग्रह गरेका छन् ।