ज्ञान ज्योति स्कूलमा विश्व वातावरण दिवसमा विविध कार्यक्रम सम्पन्न

२ घण्टा अगाडि


तुलसीपुर, २२ जेठ । तुलसीपुर उपमहानगरपालिका-६, बरुवागाउँ स्थित ज्ञान ज्योति सेकेण्डरी स्कुलले विश्व वातावरण दिवस २०२६ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

“नेशनल सस्टेनेबल टुरिजम क्लब-ज्ञान ज्योति” को आयोजनामा शुक्रबार बिहान ६:३० बजेदेखि कार्यक्रम सुरु भएको थियो । क्लबकी प्रिफेक्ट कक्षा ९ की छात्रा अर्चना सुवेदीको नेतृत्वमा शिक्षक तथा विद्यार्थीहरू वातावरणीय सचेतना र्‍यालीमा सहभागी भएका थिए। र्‍याली तुलसीपुरकै भगवती टोलस्थित खैरावाङ्ग भुवनेश्वरी मन्दिर परिसरमा पुगेर सरसफाई कार्यमा परिणत भएको थियो ।

यसैगरी, दिउँसो विद्यालयमा अङ्ग्रेजी वक्तृता प्रतियोगिता आयोजना गरिएको थियो । क्लबका संरक्षक तथा विद्यालयका शैक्षिक प्रमुख प्रमोद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लब तथा विद्यालयका संयोजक राकेश डाँगीले गरेका थिए ।

प्रतियोगितामा अर्चना सुवेदी प्रथम, सृष्टि महन्त द्वितीय र नेगिसा रोकाया तृतीय भएका छन् । क्लबका सदस्यद्वय विमर्श आचार्य र सृष्टि भण्डारीले अप्रतियोगी वक्ताको रूपमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै संरक्षक प्रमोद सुवेदीले वातावरण र पर्यटनबीचको अन्तरसम्बन्धबारे प्रकाश पारेका थिए । संयोजक राकेश डाँगीले विद्यार्थीहरूले वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक द्वय गोपालप्रसाद आचार्य र विनीता बुढा रहेका थिए ।