प्रवासमा ‘आचार्य’ को माग उच्च, सञ्चिताले अमेरिकादेखि इजरायलसम्म बेचिन् ‘राइट्स’

भदौ ११, २०८३


निखिल उप्रेति निर्देशित एक्सन प्रधान चलचित्र  ‘आचार्य’ को चर्चा चुलिएसँगै विदेशमा पनि उच्च ‘डिमान्ड’ देखिएको छ । चलचित्रकी ‘निर्मात्री’ सञ्चिता लुईंटेलले विभिन्न देशमा प्रदर्शनका लागि धमाधम सम्झौता गरिरहेकी छन् ।

हालै आकर्षक ‘टिजर’ सार्वजनिक भएसँगै ‘आचार्य’ प्रति स्वदेशी तथा विदेशी प्रदर्शकहरुको चासो ह्वात्तै बढेको हो । अहिलेको माहोल हेर्दा चलचित्रले उच्च ब्यापार गर्न सक्ने सङ्केत देखिएको छ । निखिलका फ्यानहरु र एक्सन चलचित्रका पारखीहरु ‘आचार्य’ को व्यग्र पर्खाइमा छन् ।

महङ्गो बजेटमा बजेको यस चलचित्रको ओभरसिज राइट्स पनि महङ्गोमा विक्री भइरहेको निर्माण स्रोतले बतायो । लगानीको ठूलो हिस्सा यसबाट कभर हुने स्थितिका कारण निखिल र सञ्चिताले राहतको सास फेरिरहेका छन् ।

स्रोतले भन्यो, ‘यसअघिका सफल चलचित्रहरु भन्दा राम्रो मूल्यमा सम्झौता भइरहेको छ ।’ हालसम्म युरोप, अमेरिका, कोरिया, इजरायल, क्यानाडा, मलेसिया तथा खाडी मुलुकहरुमा प्रदर्शन अधिकारका लागि सञ्चिताले सम्झौता गरेकी छन् । अष्ट्रेलियाका लागि एक-दुई दिनमा सम्झौता हुने बुझिएको छ । भारतमा प्रदर्शनका लागि निखिल आफैंले पहल गरिरहेका छन् । नेपालमा भने मनोज राठीको कम्पनीले वितरण अधिकार लिएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै सञ्चिताले चलचित्रप्रति देखिएको चासोले आफूहरु उत्साहित बनेको बताइन् । उनले भनिन्, ‘देशभित्र मात्र नभएर बाहिर पनि धेरै चासो देखिएको छ । विभिन्न देशहरुमा प्रदर्शनका लागि कुराकानी र सम्झौता गरिरहेका छौँ ।’

यसैबीच आज एक कार्यक्रममा चलचित्रका निर्देशक तथा अभिनेता निखिल उप्रेतिले रसुवा बाढी पिडितको सहयोगार्थ ‘आचार्य’ को चलचित्र विकास बोर्डसँग मिलेर च्यारिटी शो गर्ने घोषणा गरेका छन् ।

‘आचार्य’ निखिल र सञ्चिताको होम प्रोडक्सन चलचित्र हो । मुख्य लगानी सञ्चिता र उनको माइती परिवारको छ भने केही बाहिरका लगानीकर्ताहरु पनि जोडिएका छन् । यद्यपि चलचित्रको फर्स्ट लुक र टिजरमा सञ्‍चिताको नाम नराखिएपछि कौतुहल सिर्जना भइरहेको छ । निर्मातामा कृष्ण भट्टराईको मात्र नाम छ ।

चलचित्रको निर्माणका क्रममा निखिल र सञ्चिताबीच केही विषयमा मतभेद सिर्जना भएका थिए । त्यही कारण निखिलले सञ्चिताको नाम हटाइदिएको एकथरिको अनुमान छ । तर दुवैजनाले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।