पत्रकारले अफवाह होइन, सत्यतथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्छ : विपुल पोख्रेल
दाङ भाद्र १३, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारले समाजमा अफवाह फैलाउने नभई सत्यतथ्य, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पोख्रेलले पत्रकारिताको विश्वसनीयता कायम राख्न समाचार प्रकाशन तथा प्रसारणअघि तथ्यको उचित पुष्टि गर्नुपर्नेमा जोड दिए । उनले हतारमा सूचना सम्प्रेषण गर्दा त्यसले व्यक्ति, संस्था र समग्र समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले पत्रकार थप जिम्मेवार बन्नुपर्ने बताए ।
उनका अनुसार पत्रकारको मुख्य दायित्व समाजमा भएका घटनालाई सही ढंगले उजागर गर्दै नागरिकलाई सत्य र विश्वसनीय सूचना उपलब्ध गराउनु हो। पत्रकारले कुनै व्यक्ति, समूह वा संस्थाप्रति पूर्वाग्रह नराखी सत्य, तथ्य र सन्तुलित सूचनालाई जनतामाझ पुर्याउनुपर्ने उनले बताए ।
पोख्रेलले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट अपुष्ट सूचना र अफवाह तीव्र रूपमा फैलिने गरेको उल्लेख गर्दै पत्रकारले त्यस्ता सूचनालाई जस्ताको तस्तै समाचार बनाउनुको सट्टा तथ्य जाँच गरेर मात्र सार्वजनिक गर्नुपर्ने धारणा राखे ।
पत्रकारिता समाजलाई सही दिशा प्रदान गर्ने महत्वपूर्ण माध्यम भएकाले पत्रकारले आफ्नो पेशागत मर्यादा, जिम्मेवारी र पत्रकार आचारसंहिताप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ थियो। उनले बदलिँदो प्रविधि र सञ्चार माध्यमको विकाससँगै पत्रकारले आफूलाई समयानुकूल रूपमा दक्ष र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा समेत जोड दिए ।
अधिवेशनले नेपाल प्रेस युनियन दाङको आगामी कार्यदिशा तय गर्नुका साथै पत्रकारिता क्षेत्रको व्यावसायिकता, श्रमजीवी पत्रकारका सवाल तथा प्रेस स्वतन्त्रताको संरक्षणका विषयमा समेत छलफल गर्ने जनाइएको छ ।







