देशभरका हललाई बोर्डको पत्र : बक्सअफिस तथ्यांक उपलब्ध गराउन निर्देशन

असार २५, २०८२


असार २५, चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्यरुपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ ।

देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्यांक उपलब्ध नगराउने हललाई कानूनको उल्लंघन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कार्वाह गर्ने चेतावनी समेत दिएको छ ।

असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली संचालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो । अध्यक्ष दिनेश डीसीले देशभरका हललाई सचेत पत्र काटिएको बताए ।

बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र संघलाई समेत पत्र लेखेको छ । बोर्ड स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सुरु भएको जनाइएको थियो ।

एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइलमा बक्सअफिसको एप संचालनमा आइसकेको छ भने एप्पलको आइओएस अपरेटिङ सिस्टममा आउन बाँकी रहेको बोर्डले जनाएको छ ।