‘अभिमन्यु’ मंसिर १८ गतेबाट प्रदर्शन हुने

मङि्सर १६, २०८२


फिल्मको सफलता वा असफलता यसको कथा र कलाकारले दिने न्यायसंगत अभिनयमा निर्भर रहन्छ । यी दुई पक्षसँगै फिल्मको अन्तिम मूल्यांकन गर्ने दर्शक प्रमुख निर्णायक हुन् । तर, पछिल्लो समय नेपाली निर्माताहरूले आफ्नो फिल्म चल्ने आधार प्रस्तुत गर्दै सफलताको ठोकुवा गर्न थालेका छन् ।

नेपाली फिल्ममा ‘अकल्पनिय’ ग्रस कलेक्सन गरेर सर्वकालिन ब्लकबस्टर बनेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण समूह यही मंसिर १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अभिमन्यु’ लिएर दर्शकमाझ आउँदैछ । अघिल्लो फिल्ममा व्यापार ‘के’, ‘कस्तो’ हुने अन्योल उनीहरूमा भए पनि अहिले भने ‘अभिमन्यु’ लाई लिएर ढुक्क देखिन्छन् ।

निर्माता विनोद पौडेलले ‘दोस्रो रोजाइ’का कलाकारलाई लिएर फिल्म बनाएकाले यसको सफलता निश्चित रहेको दाबी गरेका छन् । ‘दोस्रो रोजाइमा रहेका कलाकारलाई लिएर बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास रच्यो । ‘अभिमन्यु’मा कसैले पनि मुख्य भूमिकामा नलिएका कलाकारहरूलाई खेलाएका छौं । केही सबल पक्ष नभइ हामीले उहाँहरूलाई लिएका होइनौं,’ उनी भन्छन् ।

यस फिल्ममा कामेश्वर चौरसिया मुख्य भूमिकामा छन् । करिब दुई दशक फिल्ममा काम गरेपछि उनले पहिलो पटक ‘सोलो लिड’को अवसर पाएका हुन् । अभिनेत्री लक्ष्मी बर्देवाले पनि पहिलो पटक मुख्य भूमिकामा आफूलाई प्रस्तुत गरेकी छन् । उनले यसअघि चारवटा फिल्ममा मुख्य भूमिकामा अभिनय गरेको भए पनि ती कुनै रिलिज हुन सकेका छैनन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा यस कामेश्वर र लक्ष्मीसहित सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । सुशान्त गौतम निर्देशक रहेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्मातामा छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन् ।