मिड वेस्ट प्वाइन्ट एकेडेमीमा NCC जुनियर डिभिजन तालिम सञ्चालन हुने
दाङ, २२ जेठ । दाङको शान्तिनगर गाउँपालिक वडा नम्बर ७ खैरेनीमा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीले शैक्षिक सत्र २०८३ का लागि राष्ट्रिय सेवा दल (NCC) अन्तर्गत जुनियर डिभिजन तालिम सञ्चालन गर्ने विद्यालयको रूपमा छनोट भएको छ ।
राष्ट्रिय सेवा दलले दाङ जिल्लाबाट ४ वटा विद्यालयलाई तालिम सञ्चालनका लागि छनोट गरेकोमा मिड वेस्ट प्वाइन्ट एकेडेमी एकमात्र संस्थागत विद्यालय छनोटमा परेको हो । छनोट भएका बाँकी तीन वटा विद्यालय सामुदायिक हुन्।
नेपाली सेनाको समन्वय र सहकार्यमा सञ्चालन हुने यस तालिमबाट विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, राष्ट्रप्रेम, विपद् व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान तथा सामाजिक सेवाको भावनाको विकास हुने अपेक्षा गरिएको छ । विद्यालय प्रशासनले तालिमले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप मार्फत व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै शारीरिक क्षमता र नेतृत्व विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
NCC तालिमका लागि छनोट भएपछि विद्यालय परिवार, विद्यार्थी तथा अभिभावकहरूमा उत्साह थपिएको छ । विद्यालयले यसलाई गौरवको विषयका रूपमा लिएको छ । राष्ट्रिय सेवा दलले देशभरका विभिन्न विद्यालयमा वार्षिक रूपमा जुनियर डिभिजन र सिनियर डिभिजन तालिम सञ्चालन गर्दै आएको छ ।






