प्रिमियरमा ‘बाः एक योद्धा’ लाई भनियो ‘उत्कृष्ट फिल्म’

२ घण्टा अगाडि


यही शुक्रबार ९ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाः एक योद्धा’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । मंगलबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा आयोजित प्रिमियरमा फिल्म हेर्न पुगेका विभिन्न क्षेत्रका व्यक्तिले कथावस्तु, कलाकारको अभिनय, छायांकन र संगीत पक्षको मुक्तकण्ठले प्रशंसा गरे ।

प्रिमियरमा पुगेका अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको बताए । उनले भने, ‘फिल्म हेरेर मलाई रुन मन लाग्यो । छोरा मान्छे सितिमिति रुँदैनन् तर मनमनै धेरै रोएँ ।’ फिल्मले वर्तमान समाजमा युवाहरूको बढ्दो अपेक्षा र पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको उनले बताए । कथा उत्कृष्ट छ, प्रस्तुति पनि उत्कृष्ट छ र यसले दिन खोजेको सन्देश पनि उत्कृष्ट छ,’ उनले भने ।

हरि लम्सालको निर्देशन तथा वसन्त लम्सालको लगानीमा बनेको यस फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सन्तानका लागि बाबुले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने पीडालाई कथाको केन्द्रमा राखेको छ ।