आज नेकपा सचिवालय बैठक बस्दै
सरकारले अध्यादेश ल्याएसँगै सुरु भएको नेकपाको विवाद अझै सुल्झिने संकेत देखिएको छैन। यहि विवादबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्न लागेको छ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर नेकपामा विवाद बढेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्ने बताइरहेका छन्। ओली पक्षले भने मन्त्रिपरिषद् हेरफेर तथा केही मुख्यमन्त्री हेरफेर गर्ने प्रस्ताव राखेको छ।
प्रचण्ड र नेपाल पक्षका स्थायी समिति सदस्यहरुले स्थायी समितिको बैठक बोलाउन लिखित रुपमै माग गरेका छन्। तथापि, अध्यक्ष ओली बैठक बोलाउन आनाकानी गर्दै आइरहेका छन्।
नेकपा सचिवालय, स्थायीय कमिटी र केन्द्रीय कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। त्यस्तै, संसदीय दलमा पनि प्रधानमन्त्री अल्पमतमै रहेका छन्। जसले गर्दा प्रचण्ड र नेपाल पक्षबीच प्रधानमन्त्री फेर्नेसम्मको छलफल भएको छ भने प्रधानमन्त्री ओली पनि प्रचण्ड र नेपालका पक्षका सांसद र नेताहरुलाई आफ्नो पक्षमा तान्न लागिपरेका छन्।
यो विवादबारे छलफल गर्न मंगलबार नै सचिवालय बैठक बोलाउने तय भएको थियो। तर, अध्यक्ष ओलीले पहल गरेनन्।
मंगलबार अध्यक्ष ओली, प्रचण्ड र नेपालबीच भएका छुट्टाछुट्टै छलफल पछि आज सचिवालय बैठक बोलाइएको हो। आज बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने जनाएको छ।
आज बस्ने सचिवालय बैठकमा सहमति नभए स्थायी कमिटी बैठक बोलाइने भएको छ। सचिवालयले बैठकमा स्थायी समिति बैठकसम्बन्धी पनि छलफल हुने जनाएको छ।






