‘बाटुलो जून’ को ‘अल्लारे ठिटो आयो’ गीतमा अनमोल र प्रिन्सीको आकर्षक नृत्य

२ घण्टा अगाडि


अभिनेता भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ को नयाँ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा रुबै र प्रवीन बेडुवालले स्वर दिएका छन् । प्रवीन नेपाल आइडल सिजन-३ का फस्ट रनरअप हुन् । पञ्चेबाजा, सारङ्गी, गीतार र बाँसुरीको धुन समेटिएको गीतमा संगीत, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन् ।

तीन दशकअघिको नेपाली समाज र त्यसबेला हुने मेलाको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन् । उनीहरूबीचको नोकझोंकलाई भिडियोमा रोचक शैलीमा प्रस्तुत गरिएको छ । दुवैले आकर्षक नृत्य पनि प्रस्तुत गरेका छन् । भिडियोको कोरियोग्राफी विक्रम स्वारले गरेका हुन् ।

भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा भुवन केसी र गरिमा पन्तको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । उनीहरूसहित फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी, हिना नगरकोटीलगायतको पनि अभिनय छ ।

नेपाली समाजको ३०/४० को दशकको प्रेमकथामा आधारित यस फिल्ममा सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन, राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत तथा रोमन बज्राचार्यको पार्श्व संगीत छ । फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह-निर्मातामा छन् ।

https://www.youtube.com/watch?v=ZSvrgaFGqRk&t=4s