कोरोनाको कहरबीच अमेरिका उडे सरोज खनाल

चैत २४, २०७६


चीनबाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकालाई समेत आफ्नो पकडमा पारिसकेको छ । ‘कोभिड १९’ का कारण अमेरिकामा ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन् भने ८ हजार ४५४ भन्दा बढीको मृत्यु भैसकेको छ । अमेरिकाको कोरोना संक्रमित र मृतक संख्या कोरोनाको उद्गमस्थल चीनमाभन्दा बढी मानिएको छ ।

कोरोनाले भयावह रुप लिन थालेपछि अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ । यसबीच, आइतवार अमेरिकाले नेपालमा रहेका ३ सयभन्दा बढी आफ्ना नागरिकलाई स्वदेश फर्काउने क्रममा अभिनेता सरोज खनाल पनि अमेरिका उडेका छन् । करीब एक दशक अमेरिका बसेर नेपाल फर्किएका उनले अझैसम्म पनि ग्रिनकार्ड त्यागेका छैनन् ।

अमेरिकाको सुःख सुविधा छाडेर उनी श्रीमतीसहित करीब ५ वर्ष अगाडि नेपाल फर्किएका थिए । तर, उनका छोराहरु भने अमेरिकामा नै बस्ने गर्दछन् । गएको असारमा उनी हजरबुबा बनेका थिए । छोराको सन्तान भएपछि खनालकी श्रीमती सूर्यमाला अमेरिका गएकी थिइन् । अभिनेता खनाल भने नातिनीको पास्नीमा जाने तयारीमा थिए । तर, त्यही समयमा लकडाउन भयो ।

सरोज खनाल परिवारसँग भेट गर्नका लागि कतार एयरवेजको चार्टर्ड विमानमार्फत् आइतवार अमेरिका प्रस्थान गरेका हुन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । नेपाल फर्किएपछि फिल्म अभिनय र व्यवसायमा उनी व्यस्त थिए । बुझिएअनुसार, उनी स्थिति सामान्य भएपछि नेपाल फर्किनेछन् । लकडाउनपछि उनी घरको चारकुनामा सीमित भएका थिए ।