चलचित्र कल्याणकारी कोष कहिलेलाई ?

चैत २४, २०७६


कोरोनाबाट प्रभावित फिल्मकर्मीहरुको लागि राहत उठाउने क्रम अहिले द्रुत गतिमा चलिरहेको छ । यहि क्रममा फिल्म निर्माता/वितरक तथा हल संचालक प्रदिप कुमार उदयले अभिनेत्री बसुन्धरा भुसाललाई फेसबुक मार्फत एक खुला पत्र लेखेर कोरोनाबाट प्रभावित फिल्म प्राबिधिकहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् । उदयले यस्तो संकटको घडीमा न्युन आय भएका, दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरू अप्ठेरो परेको हुनाले चलचित्र कल्याणकारी कोष बाट उनिहरूलाई दैनिक गुजाराको व्यवस्था गरिदिन आग्रह गरेका हुन् । त्यसो गर्न सकेमात्र सबैलाई चलचित्र कल्याणकारी कोष प्रति विश्वास जाग्ने उनले बताएका छन् । बसुन्धरा भुसाल फिल्मकर्मीहरुको लागि जस्तो सुकै परिस्थितिमा पनि खट्ने अभिनेत्री हुनुहुन्छ भन्दै उदयले फिल्मकर्मीहरु विपदमा परेको बेला नै यस्तो कोषको आबस्यकता पर्ने बताएका छन् । बसुन्धरा भुसाल चलचित्र कल्याणकारी कोष कि संयोजक हुन् ।

मेरोफिल्म संग कुरा गर्दै उदयले यतिबेला कलाकर्मीहरुले भन्दा पनि सरकारले राहत दिनुपर्ने बताएका छन् । उनले भने -‘अहिले पुरा देशबासीनै कोरोनाका कारण आक्रान्त छन् । यस्तो बेला फिल्मकर्मीहरुका विभिन्न संघ संस्थाहरुले आफु सम्बद्धहरुको सुची तयार पारेर विकास बोर्ड संग समन्वय गर्नुपर्छ, विकास बोर्ड सरकार सम्म पुग्नु पर्छ र सरकारले स्थानीय निकाय मार्फत राहतको व्यवस्था गर्नुपर्छ’ । फिल्मकर्मीहरुले अहिल्यैनै पैसा उठाईहाल्नु पर्ने थिएन भन्दै उनले पछि सरकारले नगरेको या नसकेको खण्डमा मात्र फिल्मकर्मीहरु जुट्नुपर्ने बताए ।

त्यसैगरी बसुन्धरा भुसालले मेरोफिल्म सँगको कुराकानीमा भनिन् – ‘यो बेग्लै किसिमको कोष हो’ । उनले यो कोष दुखि, बिरामी, असहायहरुको लागि र मर्दापर्दा सहयोग गर्नको लागि खडा गरिएको बताइन् । उनका अनुसार मान्छेहरुले हेर्दा ठुलो देखिन्छ तर कोषमा करिब ३ करोड ८० लाख फिक्स डिपोजिट को रुपमा रहेको र त्यसको ब्याजबाट फिल्मकर्मीहरुलाई सहयोग गरिदै आइएको छ । अहिले पनि केहि बिरामीहरुको लागि कोषले खर्च गरिरहेको, केहि बिरामीलाई हरेक महिना ५/५ हजारको दरले कोषले सहयोग गरिरहेको जानकारी पनि उनले दिइन् । उनले भनिन् – ‘पुरा विश्वनै संकटमा परेको बेला जसले सक्छ उसले सहयोग गर्नुपर्छ । कोषमा अथाह रकम भएको भए हामीहरुले पनि सहयोग गर्थ्यौ’ । केहि फिल्मकर्मीहरुले गरेको सहयोगको उनले प्रसंशा गरेकी छिन् ।

त्यस्तै चलचित्र बिकाश बोर्डका कर्मचारी प्रभाकर भट्टराईले भने – ‘बिरामी पर्दा, मर्दापर्दा ब्याजबाट सहयोग दिइने हो तर यस्तो बेला सहयोग गर्ने प्राबधान कोषमा छैन’ । उनले यो कोष फिल्म प्राबिधिकहरुको मात्र नभएर देशभरका सम्पूर्ण फिल्मकर्मीहरुको रहेको बताएका छन् । उनले सहयोग गर्ने बाटो खुलाउनको लागि कार्यविधि परिवर्तन गर्नुपर्ने तर अहिले बोर्डको अध्यक्ष नभएको बेला त्यो सम्भब नभएको बताए ।

अभिनेत्री करिश्मा मानन्धरले पनि फेसबुकमा एक स्टाटस लेख्दै यस्तोबेला चलचित्र विकास बोर्डको कल्याणकारी कोषमा भएको रकम निकासा गर्न सरकारसंग माग गरेकी छिन् । उनले हाल अमेरिकामा रहेका निर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेलको स्टाटस शेयर गर्दै उक्त कुरा लेखेकी हुन् । उनले केशव भट्टराईको निधनपछि बोर्डमा कोहि पनि आधिकारिक व्यक्ति नभएको भन्दै सरकारलाई उक्त कोषको रकम निकाशा गरेर प्राबिधिकहरुको लागि खर्च गर्न भनेकी छिन् ।