सामसुङको नाफा तीन प्रतिशत बढ्ने अनुमान

चैत २६, २०७६


दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसुङले सन् २०२० को पहिलो त्रैमासमा आफ्नो नाफा तीन प्रतिशत बढ्ने अनुमान गरेको छ ।

मंगलबार कम्पनीले वर्षको पहिलो त्रैमासमा उसको सञ्चालन नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत बढ्ने अनुमान गरेको हो ।

सीएनएनका अनुसार सो अवधिमा सञ्चालन नाफा पाँच अर्ब २० करोड डलर पुग्ने सामसुङको अनुमान छ ।

सामसुङले यो अवधिमा आफ्नो व्यापार पनि पाँच प्रतिशत बढेर ४५ अर्ब डलरमा पुग्ने अनुमान गरेको छ । कम्पनीको यो महिनाको अन्तिममा आफ्नो पूर्ण विवरण सार्वजनिक गर्नेछ । सामसुङले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर गरिएको लकडाउनको घोषणाले विश्वभर धेरै मानिसहरु घरबाटै काम गरिरहेका छन् । यसले कम्पनीको क्लाउड डेटा सर्विसको प्रयोग पनि बढाएको छ । यसबाट कम्पनीको चिपको माग पनि बढिरहेको छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । सामसुङले पनि ११ विदेशी कारखाना बन्द गर्ने निर्णय गरिसकेको छ । यसले आगामी दिनमा भने कम्पनी आर्थिक हिसाबमा समस्यामा पर्न सक्ने बताइएको छ ।

विशेषज्ञहरुले भने माग घटेसँगै कम्पनीको स्मार्टफोन र कन्ज्युमर इलेक्टोनिक्स व्यवसाय कमजोर रहन सक्ने आशंका व्यक्त गरेका छन् । तर, संक्रमणको कारण घरमा रहन बाध्य भएका मानिसको बानी परिवर्तन भएको छ । जसको कारण विश्वको सबैभन्दा ठूलो स्मार्टफोन तथा मेमोरी बनाउने कम्पनीले नाफा हुने आपेक्षा गरेको हो ।