दैनिक करोडको घाटा खेप्दै नेपाली फिल्म

चैत २७, २०७६


कोरोना भाइरसको महामारीको कारण लगभग सबै व्यापार ब्यबसायहरु ठप्प छन् । नेपाली फिल्म उद्योग पनि अहिले कोरोनाको मारमा परिरहेको छ । फिल्म हलहरु लकडाउन घोषणा हुनु भन्दा केहि दिन अघिनै बन्द भएका थिए भने कोरोनाकै कारण छायांकन भैरहेका फिल्महरु पनि बीचमै रोकिए ।

अघिल्ला बर्षहरुमा यो समय थुप्रै फिल्महरु छायांकनमा जाने गर्थे र फिल्महरु रिलिज गर्नको लागि पनि यो समय उत्तम मानिन्थ्यो तर यो बर्ष कोरोनाका कारण आशा गरिएका फिल्महरु रिलिज स्थगित गर्न बाध्य भए । लकडाउन भन्दा अघि करिब ८ वटाको हाराहारीमा फिल्महरु छायांकनमा थिए र १० वटा जति फिल्महरु रिलिजको लागि तयार अवस्थामा थिए । छायांकन रोकिए पछि र निर्धारित मितिमा फिल्म रिलिज गर्न नपाएपछि ति फिल्मका निर्माताहरुको ठुलो रकम फसिरहेको छ ।

क्यामेरा लगायतका उपकरणहरु भाडामा लगाउने इक्युपमेन्ट हाउसहरु, म्युजिक तथा रेकर्डिंग कम्पनि र त्यहाँ काम गर्ने कर्मचारीहरु, फिल्म प्राबिधिकहरु साथै कलाकारहरु र पोस्ट प्रोडक्सनको काम गर्नेहरु पनि लकडाउनबाट आर्थिक रुपमा प्रभावित बनेका छन् । बन्द भएका फिल्म हलहरुले आफ्ना कर्मचारीहरुलाई तलबी बिदा दिएका छन्, त्यो माथि फिल्म हल नचल्दा पनि संरचनाको भाडा, ब्याज जस्ता शिर्षकमा हल संचालकहरुले पैसा तिरिरहनु परेको छ । आंकडा हेर्ने हो भने हल संचालकहरु कोरोनाका कारण सबैभन्दा बढी घाटा ब्योहोरी रहेका छन् । तर ब्यापार घाटा के कति भैरहेको छ भनेर हिसाब गर्न भने कठिन नै छ ।

बक्स अफिसको कुरा बेला बेला उठिरहेको हुन्छ तर त्यो छ-छैन ?, कता छ ? कसैलाई अत्तोपत्तो छैन र फिल्महरु करको दायरामा पनि छैनन् । हामी फिल्म हिट भएको थाहा पाउन ७ वटा पर्दा भएको गोपीकृष्ण हलको छतबाट कलाकारहरुले खिचेको भरिभराउ दर्शक सहितको सेल्फीमा निर्भर छौ ।

निर्माता तथा वितरक (एफडि कम्पनि) सुशील पोखरेलका अनुसार यतिबेला व्यापार घाटा मात्र प्रतिदिन डेढ करोड बराबरको छ । उनि भन्छन् – “हल, निर्माता र बेरोजगार प्राबिधिक सबै हेर्दा यो समय हाम्रा लागि पुरै कालो समय हो”। उनि अगाडी थप्छन् – “यो त देखीने घाटा हो, नदेखीने त कति छ कति । आश्रित परिवार, पोस्टर टास्ने देखी हलमा सफाई गर्ने कर्मचारी अनी स्पटब्वाई सम्म प्रभाबित छन्, त्यो घाटाको अनुमान लगाउन गाह्रो हुन्छ” ।

कोरोनाका कारण नेपाली फिल्मको ब्यापार घाटा कती भयो भन्ने अनुमान लगाउन गाह्रो भएको फिल्म लेखक तथा पत्रकार सामिप्य राज तिमिल्सिना बताउँछन् । उनि भन्छन् – “नेपालमा न बक्स अफिस छ, न कुनै करको दायरा नै छ, कस्ले कती ब्यापार गर्यो भन्ने कि वितरक कि निर्माताको कुरा पत्याउने हो । यदी त्यो कुरा मान्ने हो भने दिनको लगभग एक करोडको कारोबारमा तल माथि हुन्छ होला” । उनका अनुसार फिल्म निर्माताहरुको हकमा भने फिल्म फाईनल भईसकेका र शुटिङ भईरहेका फिल्मका निर्माताहरुलाई मात्र घाटा भएको छ ।

फिल्म वितरक गोपाल काजी कायस्थ भन्छन् – “हल भाडा, ब्याज, तलबको मात्र घाटा हेर्ने हो भने सम्पूर्ण उधोगको कुरा गर्दा दैनिक ५० लाखको हाराहारीमा घाटा भैरहेको छ । व्यापार घाटापनि त्यहि हाराहारीमा छ” । उनि थप्छन् – “जम्माजम्मी हिसाब गर्दा प्रतिदिन एक करोड १५-२० लाखको घाटा हुन आउँछ” ।

त्यस्तै वितरक गोविन्द शाही भन्छन् – “यो समय फिल्म रिलीज र छायांकनको लागि गोल्डेन समय हो । दशै पछी यो डेट फिल्म रिलीजको लागि ठुलो संघर्ष गर्नुपर्ने र छायांकनका लागि पनि प्राबिधिक पाउन गाह्रो हुने बेला हो । अघिल्ला बर्ष यहि बेला ९-१० वटा फिल्म छायांकनमा जान्थे भने ६-७ वटा रिलिज हुन्थे, त्यसको ब्यापारको कुरा गर्दा अहिले दैनिक एक करोड भन्दा माथिको ब्यापारमा असर गरेको छ” ।

वितरक मनोज राठी थिएटर र बितरकको मात्र हेर्दा पनि दैनिक १ करोडकोअसर हुने बताउछन् । उनि थप्छन् – “छायांकन अनी अन्य कुराहरु जोड्दा यो रकम बढ्न जान्छ, हामीले अनुमानै लगाउन नसक्ने गरी ठुलो नोक्सान भोग्नु पर्छ । मनोरन्जन उद्योगको स्थिती भयावह हुदैछ, हलमा फेरी पहिले जस्तै दर्शक आउन यो माहामारी अन्त्य भएपछि पनि ६-७ महिना लाग्छ”। उनले अब फिल्म रिलिजको मिति मिलाउन पनि अत्यन्त कठिन हुने बताए ।

नेपाल चलचित्र संघका महासचिब अशोक शर्मा यो स्थितिलाई सामान्य रुपमा आंकलन गर्न गार्हो रहेको बताउँछन् । उनि भन्छन् – “लकडाउन भन्दा अगाडी देखी हलहरु बन्द छन्, कर्मचारीहरुको तलब, ब्याज, भाडा सबैको पैसा दिनु पर्ने हुन्छ । हलमा दर्शक आउन यो स्थिती अन्त्य भएपछि पनि ५-७ महिना अझै लाग्छ । हामीले अहिलेको स्थितिलाई सामान्य रुपमा लिईरहेका छौ तर स्थिति बिकराल छ । हिसाब किताब गर्दा दैनिक रुपमा एक करोड माथिको ब्यापार घाटा छ । टेली सिरियल ,रियालिटी शोहरु, म्युजिक भिडियोहरुका सरोकारवालाहरु को पनि जोड्ने हो भने त यो आंकडा झन माथि जान्छ”। उनले देशभर रहेका १९१ हलका कर्मचारी र ति हलका सरोकारवालाको आम्दानीको हिसाब गर्न जरुरी रहेको बताए ।

वितरक करण श्रेष्ठ व्यापार घाटालाई हेर्दा मनोरंजन क्षेत्र ५-७ महिना धकेलिएको बताउँछन् । उनका अनुसार हल, फिल्मको व्यापार र अन्य सम्बन्धित पक्षको अनुमान लगाउने हो भने दैनिक डेढ करोड जतिको घाटा भैरहेको छ ।

च​ल​चित्र​ प​त्र​कार​ संघ​ नेपालका अध्य​क्ष​ दिनेश सिटौला भन्छन् – “आगामी फिल्मको रिलिज मिती हेर्ने हो भने यो बर्षका ठुला भनिएका फिल्महरु प्रसस्तै छन् । हलहरु बन्द छन् । हलहरुको ब्याज, तलब, भाडाहरुको हिसाब अनी फिल्म संग सरोकारका पक्षहरुको पनि हिसाब गर्दा करोड बराबरको ब्यापारमा असर गर्छ होला” । उनि अगाडी थप्छन् – “विदेसी फिल्महरु पनि रिलिजको तरखरमा थिए, ती फिल्महरुको ब्यापार अनी सम्पूर्ण शूटिङका उपकरण तथा प्रोडक्सन हाउसहरुको घाटा सबै हिसाब गर्दा यो समय प्रती दिन करोड आसपासमा घाटा हुन्छ तर हाम्रोमा करको बिवरण तथा बक्स अफिसको व्यवस्था नहुँदा यकिन घाटाको बिवरण आउन भने सक्दैन” ।

सरसर्ती हेर्दा फिल्म उद्योगले अहिले प्रतिदिन एक करोड भन्दा माथिको व्यापार घाटा बेहोरीरहेको देखिन्छ । यो घाटा त आफ्नो ठाउँमा छदैछ तर स्थिति सामान्य भएपछि पनि फिल्म उद्योगले धेरै चुनौतीहरु सामना गर्नु पर्ने देखिन्छ । हलमा फेरी दर्शकहरु जम्मा गर्न, छायांकनलाई पुरानै गतिमा फर्काउन र स्थगित गरिएका धेरै फिल्मको रिलिज मिति समायोजन गर्न ठुलै झन्झट हुनेछ । त्यसका लागि फिल्म र फिल्मकर्मीका लागि भनेर स्थापना भएका विभिन्न संघ संस्थाहरु एक आपसमा मिलेर योजनाहरु बनाउनु जरुरि रहेको छ ।

मेरो फिल्मबाट