कोरोनाविरुद्ध लड्न ट्वीटरका सीईओको एक अर्ब डलर

चैत २८, २०७६


सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्सीले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न एक अर्ब डलर सहयोग गर्ने भएका छन् । बिजनेस इनसाइडरकाअनुसार डोर्सीले मंगलबार ट्वीटरमार्फत आफूले कोरोना भाइरसविरुद्ध लड्न स्टार्ट स्मल एलएलसी कोष स्थापना गरेको बताएका छन् ।

स्क्वायर इंकका पनि सीईओ रहेका उनले यसमा एक अर्ब डलर जम्मा गरिएको बताएका हुन् । यो उनको समग्र सम्पत्तिको २८ प्रतिशत हो । कोरोना भाइरसको महामारी सकिएपछि यो कोषको प्रयोग बालिकाको स्वास्थ्य र शिक्षाका साथै विश्वव्यापी न्यूनतम आम्दानीलगायतका क्षेत्रमा गरिने उनको भनाइ छ ।