डा. महावीर पुनद्वारा दाङका एम्बुलेन्स चालकलाई पिपिई हस्तान्तरण
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनले बनाउनु भएकाे पिपिई दाङका एम्बुलेन्स चालकलाई उपलब्ध गराईने भएकाे छ।
दाङका एम्बुलेन्स चालक र रक्तसंचार केन्द्रमा कार्यरतहरुका लागि डा. महाबीर पुनले निशुल्क उपलब्ध गराउनु भएकाे ३६ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजाललाई अाज मंगलबार हस्तान्तरण गरिएकाे छ। राष्ट्रिय अाविष्कार केन्द्रका प्रमुख डा. महाबीर पुनले बनाउनु भएकाे पिपिई दाङमा ल्याउन भूमिका खेल्नु हुने युवा समाजसेवी नरेन्द्र पुन तथा उक्त पिपिई काठमाडाैबाट दाङसम्म ल्याई पुर्याउन सहयाेग गर्नु हुने शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गाैतमलाई प्रजिअ रिजालले धन्यवाद दिँदै प्राप्त भएकाे पिपिई दाङमा अापतकालीन याे बेलामा संचालनमा रहेका १४ वटा एम्बुलेन्स, रक्तसञ्चार केन्द्रलाई वितरण गरिने बताउनु भएकाे छ। प्रजिअ रिजालले भन्नुभयाे, ” प्राप्त भएकाे पिपिई अब पालैपालाे बाेलाएर एम्बुलेन्स चालकलाई दिन्छाैँ, यसले उहाँहरु र एम्बुलेन्समा सवार हुने विरामीलाई थप जाखिम हुनबाट बचाउनेछ।”
दाङमा करिव ५ दर्जन एम्बुलेन्स भएपनि विपदकाे याे बेलामा १४ वटा एम्बुलेन्स चाैबिसै घण्टा सेवारत छन्। अरु एम्बुलेन्स अावश्यकता अनुसार परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएकाे छ।
विश्वभर महामारीका रुपमा फैलिएकाे काेरानाकाे महाविपत्तिका बेलामा चाैविसै घण्टा खटिएका दाङका एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई राष्ट्रिय अाविष्कार केन्द्रले पिपिई उपलब्ध गराई दाङलाई सहयाेग गरेकाे भन्दै प्रजिअ रिजालले डा. महावीरलाई धन्यवाद दिनुभएकाे छ।
पिपिई हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारु, पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएम, स्थानीय जनप्रतिनिधि, पत्रकारलगायतकाे उपस्थिति रहेकाे थियाे।






