सामाजिक अभियानमा सँगसँगै नायक आकाश श्रेष्ठ

बैशाख ११, २०७७


शिव पुन
दाङ ,११ वैशाख। विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको आतंकका कारण नेपाल पनि अहिले बन्दा-बन्दीमा छ। लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन्। बन्दा-बन्दीले हजारौं मान्छेहरु गन्तव्यमा पुग्न नसकेको,दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई साझबिहानको छाक टार्नै गार्‍हो भएको जस्ता समाचार आइरहदा ठाउँ-ठाउँमा विभिन्न सामाजिक संघ/संस्थाहरुको पहलमा ती विचल्लीमा परेका यात्रुलाई उद्दार गरि खानापानीको व्यवस्थासहित गन्तव्यमा पुर्‍याउने अभियान नै चलाएका छन्।

यता तुलसीपुरमा पनि विगत केही दिनदेखि अलपत्र परेका यात्रुलाई पश्चिम दाङका विभिन्न स्थान, सल्यान, रुकुम र रोल्पा सम्म निशुल्क यातायात सेवासंगै तुलसीपुरको अरनिको मैदानमा रहेको समिक्षालयमा खाना र बास बस्ने समेत व्यवस्थापन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर उपमहानगरपालिका, त्रिसिदेश्वरी राप्ती यातायात प्रालि, रोटरी क्लव अफ तुलसीपुर, रिपोर्टर्स क्लव दाङ, चलचित्र पत्रकार संघ दाङ,लायन्स क्लव अफ तुलसीपुर, लियो क्लव अफ तुलसीपुर, रोट्रयाक्ट क्लव अफ तुलसीपुर, तुलसीपुर नगरजेसिज लगायतका संघ/संस्थाको अग्रसरतामा र थुप्रै सहयोगी हातहरुको सहयोगार्थ यो सामाजिक अभियान संचालन भैरहेको छ।


यस्तैमा चर्चित नायक आकाश श्रेष्ठ पनि यो अभियानमा जोडिएका छन्। मातातिर्थ औसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर नायक श्रेष्ठले अभियानलाई नगद ५१,००० (एकाउन्न हजार )रुपैयाँ सहयोग गरेका छन्। बन्दा-बन्दीका कारण अहिले गृह जिल्ला दाङमा परिवार संग रहेका नायका आकाशले बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरु रावतलाई सो रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नायक आकाशले कोरोना भाइरसले सृजना गरेको बन्दा-बन्दीका कारण समस्यामा परेका मानिसलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। साथै आकाशले कोरोनाबाट सुरक्षित रहने एकमात्र विकल्प कसैको सम्पर्क नरहनु नै भएकाले सरकारले जारी गरेको लकडाउनको पुर्ण रुपमा पालना गरि घरमै बस्न र सुरक्षित रहन समेत आग्रह गरे।


स्मरण रहोस् दाङ घर भै हाल काठमाडौलाई कर्म थलो बनाएका चर्चित नायक आकाश फिल्म ‘म त तिम्रै हु’ बाट नेपाली रजतपट डेब्यु गरेका हुन्। फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमै उनले ‘ब्लाक’, ‘तिमी संग’, ‘रामकहानी’, ‘ड्रीमगर्ल’ लगाएत आधा दर्जन बढी फिल्ममा काम गरिसकेका छन् भने थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरेका छन्। आकाश अभिनित दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ रिलिजको पाइपलाइनमा रहेका छन्।