सांसद अपहरण गर्नेमाथि कारवाही गर्नुस् : देउवा

बैशाख १२, २०७७


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्न भएकाहरुमाथि कारवाही गर्न माग गरेका छन्।

शुक्रबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सभापति देउवाले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संलग्नहरुमाथि कारवाही गर्न माग गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीलाई देउवाले भने,‘ एक जना सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कारवाही गर्नुपर्ने माग देशभर उठेको छ। मेरो माग यही छ। देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ।’

देउवाले राजनीतिक दल र संवैधानिक परिषद् अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए।  सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहेका बेला अब विवादका कुनै कुरा नल्याउन प्रधानमन्त्री ओलीलाई थप सजग पनि गराएका थिए।