एकैदिन ८१ हजार थपिए कोरोना संक्रमित, संसारभर ३७ लाख नाघे

बैशाख २४, २०७७


कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ। गत २४ घन्टामा मात्रै संसारभर ८१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार, बुधबारसम्म संसारभर संक्रमितको संख्या ३७ लाख २८ हजार आठ सय ७९पुगेको छ। गत २४ घन्टामा मात्रै ८१ हजार दुई सय ४७ नयाँ संक्रमित भेटिएका छन्।

बुधबारसम्म संसारभर दुई लाख ५८ हजार तीन सय ७२ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये १२ लाख ६५ हजार एक सय ७१ जना निको भएका छन भने २२ लाख २५ हजार तीन सय ६६ जनाको उपचार भइरहेको छ।

सबैभन्दा बढी अमेरिकामा १२ लाख ३७ हजार सात सय ६१ जनामा कोरोना देखिएको छ। गत २४ घन्टामा २४ हजार सात सय ९८ जनामा संक्रमण देखिएको हो। अमेरिकामा ७२ हजार दुई सय ७५ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनमा एकै दिन दुई हजार दुई सय ६० जनामा कोरोना देखिएको छ। अहिलेसम्म दुई लाख ५० हजार ६ सय ६१ जनमा संक्रमण देखिएको छ भने जसमा २५ हजार ६ सय १६ जनाको मृत्यु भएको छ।

त्यस्तै, एक हजार ७५ जना थपिएसँगै संक्रमितको संख्या दुई लाख १३ हजार १३ पुगेको छ। जसमा २९ हजार तीन सय १५ जनाले ज्यान गुमाइसकेका छन्।

बेलायतमा चार हजार चार सय ६ जना नयाँ संक्रमित थपिएसँगै एक लाख ९४ हजार नौ सय ९० जना संक्रमित पुगेका छन्। अहिलेसम्म २९ हजार चार सय २७ जनाको मृत्यु भएको छ।

पछिल्लो चरणमा रुसमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। दैनिक सरदर १० हजारका दरले संक्रमित थपिदै गएका छन्।

गत २४ घन्टामा १० हजार ८९ जना संक्रमित थपिएसँगै एक लाख ५५ हजार तीन सय ७० जना पुगेका छन्। अहिलेसम्म रुसमा एक हजार चार सय ५१ जनाको मृत्यु भको छ।

चीनमा गत २४ घन्टामा तीन जनामात्रै संक्रमित थपिएका छन्। संक्रमितको संख्या ८२ हजार आठ सय ८३ पुगेको छ भने ७७ हजार नौ सय ११ जना निको भइसकेका छन्। चीनमा चार हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।

छिमेकी भारतमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। गत २४ घन्टामा तीन हजार आठ सय संक्रमित थपिएका छन्।

बुधबारसम्म भारतमा संक्रमितको संख्या ४९ हजार चार सय ३१ पुगेको छ। अहिलेसम्म एक हजार ६ सय ९५ जनाको मृत्यु भएको छ।

नेपालमा गत २४ घन्टामा नयाँ संक्रमित थपिएका छैनन्। अहिलेसम्म ८२ जनामा संक्रमण देखिएको छ भने २२ जना निको भइसकेका छन्। १६ जना यस अघि नै निको भएका थिए भने ६ जनालाई आज बिहान डिस्चार्ज गरिएको छ।