सार्क राष्ट्रमा कोरोना,कुन देशमा कति ?

बैशाख २६, २०७७


कोरोना भाइरसको संक्रमण सार्क राष्ट्रमा पनि फैलिँदै तीव्ररुपमा फैलिँदै गएको छ। भुटानबाहेका प्रायः सबै देशमा दैनिकजसो संक्रमित थपिइरहेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म सार्क राष्ट्रमा संक्रमितको संख्या ९९ हजार आठ सय १४ पुगेको छ। जसमा दुई हजार आठ सय एक जनाले ज्यान गुमाइसकेका छन्। नेपाल र भुटानबाहेक सबै देशमा कोरोनाबाट नागरिकको ज्यान गएको छ।

अहिलेसम्म सबैभन्दा बढी भारतमा कोरोना संक्रमण बढिरहेको छ। भारतमा ५६ हजार चार सय नौ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये एक हजार आठ सय ९० जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म १६ हजार सात सय ९० जना निको भइसकेका छन भने ३७ हजार सात सय २९ जनाको उपचार चलिरहेको छ।

दोस्रो नम्बरमा रहेको पाकिस्तानमा २५ हजार आठ सय ३७ जनामा कोरोना देखिएको छ भने पाँच सय ९४ जनाको मृत्यु भएको छ। सात हजार पाँच सय ३० जना निको भएका छन भने १७ हजार सात सय १३ जनाको उपचार भइरहेको छ।

त्यस्तै, बंगलादेशमा संक्रमितको संख्या १२ हजार चार सय २५ पुगेको छ। त्यसमध्ये एक सय ९९ जनाको ज्यान गएको छ। बंगलादेशमा एक हजार नौ सय १० जना निको भएका छन भने १० हजार तीन सय १६ जना उपचार गरिरहेका छन्।

अफगानिस्तानमा पनि कोरोनाको संक्रमण तीव्ररुपमा फैलिँदै गएको छ। चौथो नम्बरमा रहेको अफगानिस्तानमा तीन हजार पाँच सय ६३ जनामा कोरोना देखिएको छ भने एक सय ६ जनाले ज्यान गुमाएका छन्। अफगानिस्तानमा चार सय ६८ जना निको भएका छन भने दुई हजार नौ सय ८९ जनाको उपचार भइरहेको छ।

पाँचौ नम्बरमा रहेको श्रीलंकामा पनि आठ सय २४ जनामा कोरोना देखिएको छ भने नौ जनाको मृत्यु भएको छ। अहिलेसम्म दुई सय ३२ जना निको भएका छन भने पाँच सय ८३ जनाको उपचार चलिरहेको छ।

छैटौ नम्बरमा रहेको मालदिभ्समा ६ सय ४८ जनामा कोरोना देखिएको छ भने तीन जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म २० जना निको भएका छन भने ६ सय २५ जनाको उपचार भइरहेको छ।

सातौ नम्बरमा नेपाल रहेको छ। नेपालमा एक सय दुई जनामा कोरोना देखिएको छ भने ३० जना निको भइसकेका छन्। अहिले ८१ जनाको उपचार भइरहेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सबैभन्दा राम्रो भुटान देखिएको छ। भुटानमा सात जनामात्रै संक्रमित भेटिएका छन भने पाँच जना निको भइसकेका छन्।