कोरोनाका कारण विश्वभर ७८ नेपालीको मृत्यु

बैशाख २८, २०७७


विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो।

यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

कोरोना भाइरसका कारण यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन्।

संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्।