प्रदेश ५ कोरोनाको ‘हट स्पट’: संक्रमितको संख्या ७० पुग्यो
प्रदेश नम्बर ५ मा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बृद्धि हुदै गएको छ । प्रदेशमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो क्षेत्र कोरोनाको ‘हट स्पट’ बनेको छ आज रुपन्देहका ९ जना र कपिलवस्तुमा ८ जना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । प्रदेश ५ मा आज भेटिएका १७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । आज भेटिएका ८ जना संक्रमित कपिलवस्तुको यशोधरा गाउँपालिकाका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।
रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाका रहेको निर्देशनालयले जनाएको छ । उनीहरु पनि भारतबाटै लुकेर आई क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाब अस्ति (आइतबार) काठमाडौ लगिएको थियो । प्रदेशमा संक्रमण भएका ७० जनामध्ये ४७ जना लुकिछिपी नेपाल प्रवेश गरेका हुन् ।
यसबाहेक प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा पुष्टि भएको छ । उनीहरु पनि भारतीय सीमाबाट लकडाउनकै बीच सुरक्षाकर्मीलाई छल्दै नेपाल प्रवेश गरेका थिए । कोरोना संक्रमणमा बृद्धि भएपछि बाँकेको नेपालगञ्ज सिल गरिएको छ भने कपिलबस्तुमा हिजो साझँदेखि जेठ ५ गतेसम्म सिंगो जिल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए ।






