राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी बन्द गर्ने निर्णयको विरोध

जेठ ०७, २०७७


ओपीडी सेवा बन्द गरेर कोरोना संक्रमितको मात्रै उपचार गर्ने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्णय अपरिपक्व भएको भन्दै आलोचना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन भन्दै प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिदिएपछि दाङबासी रुष्ट बनेका हुन् ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले १ सय जना कोरोना संक्रमितको उपचार गर्ने तयारी गर्न निर्देशन दिएको भन्दै मंगलबार प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले सर्वपक्षीय बैठक बोलाएकी थिइन् । बैठकमा प्रतिष्ठानको ओपीडी सेवा बन्द गर्ने विषयमा एक मत भएन । यद्यपि, प्रतिष्ठानले ओपीडी सेवा बन्द गरिएको सूचना जारी गरेको छ । सो सूचनामा मन्त्रालयको लिखित निर्देशन हो कि मौखिक हो भन्ने खुलाइएको छैन ।

यसअघि वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले परिपत्र गर्दै प्रतिष्ठानलगायतका सरकारी तथा निजी अस्पतालहरु सबैलाई ओपीडी सेवा नरोक्न भनेको थियो । अहिले फेरि ओपीडी सेवा बन्द गर्न भनिएको भन्दै कतिपयले विरोध जनाएका छन् ।

उद्योग वाणिज्य संघ, दाङका अध्यक्ष नारायण भुसाल ओपीडी सेवा नदिने प्रतिष्ठानको निर्णय गलत भएको बताउँछन् । प्रतिष्ठानबाट प्रवाह हुने सेवा भोलिदेखि नै प्रवाह गर्न उनले आग्रह गरे ।