विदेशबाट नेपालीलाई ल्याउन दिनमा १० वटा उडान ।।

जेठ १९, २०७७


जेठ १९, काठमाण्डौ –  विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारी तयारी अन्तिम चरणमा पुगेकाे छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् । परराष्ट्र, गृह, पर्यटन मन्त्रालय लगायत सरकारी निकायबीच आवश्यक व्यवस्थापनबारे समन्वय भैरहेको छ ।

विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु काम सकिएको छ । विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउन दिनमा १० वटा उडान गर्ने सरकारको तयारी छ । नेपाल एअरलाइन्सका जहाजले नभ्याएमा अरु वायुसेवा र विदेशी विमानसमेत चार्टर्ड गर्ने सरकारको योजना छ ।

कोरोनाको कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धाारका लागि बनाइएको बृहत कार्ययोजना अनुसार खाडीका देश र मलेसिया लगायतका देशबाट समस्यामा परेका नेपालीको उद्धारका लागि दिनमा १० वटा उडान हुनेगरी निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेले जानकारी दिनुभयो ।