सीपीएलमा ट्रिनबागोको लगातार आठौं जित, गाएना सेमिफाइनल पुग्ने तेस्रो टिम

भदौ १८, २०७७


१८ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा लगातार आठौं जित हात पारेको छ ।

यस सिजन अपराजित रहने एक्लो टोलीको रुपमा रहेको ट्रिनबागोले बुधबार अंक तालिकाको पुछारमा रहेको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३९ रनले पराजित गरेको हो । लगातार आठौं जितपछि ट्रिनबागोले लिग चरणमा शीर्ष स्थानसमेत पक्का गरेको छ । ८ खेलबाट ट्रिनबागोको १६ अंक छ । उता सेमिफाइनल पुगिसकेको सेन्ट लुसिया जुक्सलाई ७ विकेटले पराजित गर्दै गाएना अमेजन वारियर्स पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । ९ खेल खेलिसकको गाएना पाँच जितपछि १० अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । यस्तै ८ खेलबाट १० अंक रहेको जुक्स तेस्रो स्थानमा छ । ट्रिनबागो, गाएना र जुक्सले सेमिफाइनलमा सथान पक्का गरिसकेको छ । अब बाँकी तीन टिममध्ये एक टिम सेमिफाइनल पुग्नेछ ।