जर्मनी र स्पेनबीच रोमाञ्‍चक बराबरी

भदौ १९, २०७७


पेरिस — अन्तिम समयमा गरेको गोलमा स्पेनले नेसन्स लिगको स्टुटगार्टमा भएको खेलमा जर्मनीलाई रोमाञ्चक १–१ को बराबरीमा रोकेको छ । प्रतियोगिताका खेलसँगै कोरोना भाइरस संक्रमणको महामारीपछि पहिलो पल्ट अन्तर्राष्ट्रिय फुटबल पनि फर्केको छ ।

लिग ए समूह फोरको खेलमा जर्मनीले चेल्सीका नयाँ अनुबन्धित खेलाडी टिमो वार्नरको गोलले अग्रता लिएको थियो । तर इन्ज्युरी समयको पाँचौं मिनेटमा लिड्सका जोसे लुइस गायाले स्पेनका लागि बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा युक्रेनले स्विजरल्यान्डलाई २–१ ले हरायो । लिग बी समूह थ्रीमा रुसले सर्बियालाई ३–१ ले हरायो भने हंगेरीले टर्कीमाथि १–० को जित निकाल्यो ।

लिग बी ग्रुप फोरमा वेल्सले फिनल्यान्डलाई १–० हरायो । यसै समूहमा बुल्गेरिया र आयरल्यान्डले १–१ को बराबरी खेले । यस्तै लिग सी समूह थ्रीमा मोल्डोभो र कोसोभोले १–१ र स्लोभेनिया र ग्रिसले गोलरहित बराबरी खेले ।