सेमिफाइनलमा स्थान पक्का गरिसकेको जमैकाको लिगमा पाँचौ हार

भदौ २१, २०७७


भदौ २१, नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) यस सिजन पाँचौ हार व्यहोरेको छ । सेमिफाइनलमा स्थान पक्का गरिसकेपनि जमैका आइतबार बिहान सम्पन्न खेलमा बार्बेडोस ट्राइडेन्सँग ७ विकेटले पराजित भएको हो । उक्त खेलमा सन्दीपले १ विकेट लिए ।

लिग चरणमा ९ खेल खेल्दा जमैकाले ३ खेल मात्र जितेको छ । एक खेल नतिजाविहीन हुँदा अंक बाँडेको थियो । जमैकाले दिएको १६२ रनको लक्ष्य बार्बेडोसले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । बार्बेडोसका लागि कप्तान ज्यासन होल्डरले सर्वाधिक ६९ रन बनाए । होल्डरलाई सन्दीपले लामिछानेले आउट गरेका थिए ।

यस्तै बार्बेडोसका लागि जोनाथन कार्टरले ४२ रन बनाए भने मिचेल स्यान्ट्नरले अविजित ३५ रन जोडे । जमैकाका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा गरेको तल्लावाहजले जर्मेन ब्लयाकउड र आन्द्रे रसेलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । जमैकाका लागि ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए ।

यस्तै रेसलले आक्रामक ब्याटिङ गर्दै २८ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ५४ रन योगदान गरे । बार्बेडोसका लागि जोसुअ बिसोप, ज्यासन होल्डर, रासिद खान र हायडेन वाल्सले १-१ विकेट लिए । पाँचौ हारपछि पनि ९ खेलबाट ७ अंक रहेको जमैका चौथो स्थानमै छ । जमैकाले अब लिगको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससंग खेल्नेछ । यसअघि नै लिग चरणबाट बाहिरिसकेको साविक विजेता बार्बेडसले भने अन्तिम खेल जित्दै सुखद अन्त्य गरेको छ ।

ट्रिनबागो नाइट राइडर्सको लगातार नवौं जित

यस सिजन अपराजित रहने एक्लो टिम बनेको ट्रिनबागो नाइट राइडर्सले लिगमा लगातार नवौं जित हात पारेको छ । कप्तान काएरन पोलार्डको अलराउण्ड प्रदर्शन मद्दतमा ट्रनिबागोले जुक्सलाई २३ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । जसमा डारेन ब्राभोले ५० रन बनाए भने पोलार्डले पोलार्डले २१ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन जोडे ।

१७६ रनको लक्ष्य पछ्याएको जुकस्लाई रोक्न पोलार्डले ३ विकेट पनि लिए । जुक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । जुक्सका लागि आन्द्रे फ्लेचरले ४२ र मार्क डेयालले ४० रन जोडे । पोलार्डले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । यस्तै ड्वाने ब्राभो र जेडन सिल्सले २-२ विकेट लिए ।