मुकुन्दको फिल्ममा निश्चल, सौगात, अनमोल र पुष्प ?

चैत १२, २०७७


स्टारडम भएका कलाकारहरु एउटै फिल्ममा भए दर्शकको राम्रो साथ मिल्ने विश्वास फिल्मकर्मीमा छ । नेपालमा पनि मल्टीस्टारर फिल्म उल्लेख्य संख्यामा बनेका छन् । तर, युवापुस्तामा राम्रो क्रेज बनाएका पछिल्ला स्टार कलाकारलाई एउटै फिल्ममा उतार्न भने कमै निर्देशक सफल छन् ।

अब यसका लागि निर्देशक मुकुन्द भट्टले प्रयास थालेका छन् । यही चैत २७ गते उनी निर्देशित फिल्म ‘छप्पन छप्पन २’ प्रदर्शनमा आउँदैछ । यसमा मल्टीकास्ट छ । यो फिल्म प्रदर्शनमा आएपछि उनी नयाँ फिल्म बनाउँदैछन्, जसका लागि मुख्य नायकमा पुष्प खड्का अनुबन्ध भइसकेका छन् । एक्सन जनरामा निर्माण हुन लागेको फिल्मका लागि उनले ६ महिना एक्सन तालिम लिँदैछन् ।

छप्पन छप्पन’ को दुवै सिरिजमा मल्टीकास्टलाई एक्सन(कट गरेका मुकुन्द पुष्पलाई लिएर बनाउन लागेको नयाँ फिल्ममा पनि स्टार कलाकारसँग काम गर्न अगाडि सरेका छन् । उनले यो फिल्मको प्रस्ताव सौगात मल्ल, निश्चल बस्नेत र अनमोल केसीलाई गरेका छन् । सौगात र निश्चलसँग उनको मौखिक सहमति नै भइसकेको स्रोत बताउँछ । अनमोलले भने वचन दिइसकेका छैनन् ।

मुकुन्दले अनमोललाई फिल्म अफर गरेको कुरा स्वीकार गरे । उनले भने( ‘अनमोलसँग कुरा भइरहेको छ । उहाँलाई फिल्मको कथा मन परेको छ । अहिलेसम्म कागजी सम्झौता चाहिँ भएको छैन । केही समयमा फिल्मको घोषणा गर्नेछौं ।’ उनले फिल्मका लागि अनमोललाई ७५ लाख अफर गरेको पनि चर्चा छ । तर, अहिलेसम्म पारिश्रमिकको विषयमा कुरा नभएको उनले बताए ।

फिल्मलाई लिएर निश्चल र सौगात पनि सकारात्मक रहेको उनको भनाई छ । महाशिवरात्रीमा भएको ‘छप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मलाई शुभकामना दिन निश्चल र अनमोलका पिता भुवन केसी पुग्नुले पनि मुकुन्दसँँग नयाँ फिल्ममा सहकार्य हुन लागेको कुरालाई बल मिलेको छ । सौगातसँग मुकुन्दले ‘छप्पन छप्पन’ का दुई सिरिजमा काम गरिसकेका छन् ।

उनी आफूलाई मल्टीस्टारसँँग काम गर्न मज्जा आउने बताउँछन् । मुकुन्द भन्छन्, मलाई जति मल्टीस्टार भयो, त्यति काम गर्न मज्जा लाग्छ । ठूला स्टार भएपछि अरुलाई गाह्रो हुन्छ भन्ने सुन्छु, मलाई चाहिँ झन् मज्जा आउँछ । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको उनले बताए । उनले निश्चल, सौगात, अनमोल र पुष्पलाई एउटै फिल्ममा उतार्न सके दर्शकलाई ठूलै सरप्राइज हुनेछ ।