‘ए मेरो हजुर ४’को क्लाइमेक्स दृश्य टिकटकमा भाइरल

चैत २३, २०७७


चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिल कुमार थापाले चलचित्रको छायांकनको दृश्य लुकाउन भरपुर प्रयास गरे । तर, सार्वजनिक स्थलमा चलचित्रको छायांकन गर्नुपर्ने वाध्यताका कारण उनको यो प्रयास सफल हुन सकेन ।  केही साता अगाडि चलचित्रको छायांकन सिंहदरबार अगाडि भयो । नायक अनमोल केसी र नायिका सुहाना थापाविचको एक दृश्य टिकटकमा भाइरल नै भयो ।

हाल यो चलचित्रको क्लाइमेक्स र प्रि–क्लाइमेक्सको दृश्य काठमाडौंको विभिन्न अस्पतालमा भैरहेको छ । तर, ग्रान्डी अस्पतालमा चलचित्रको क्लाइमेक्सको दृश्य छायांकन गर्दा भिडियो टिकटकमा भाइरल भयो ।

नायक अनमोल केसी विरामी परेपछिको दृश्य लुकाउनका लागि सुनिलले प्रयास नगरेका होइनन् । उनले भने–‘हामीले डेढ दर्जन प्राविधिकहरुलाई त मोबाइलबाट भिडियो खिच्नबाट रोक्नकै लागि छायांकनमा खटाएका थियौं । तर, भिडियो लिक भयो । कसले कहाँबाट खिच्छ, कसरी थाहा पाउनु ?’

सुनिलले नेपालममा चलचित्र स्टुडियो नहुनुको घाटा निर्माताहरुले भोग्नुपरेको बताए । उनले भने–‘आफ्नै स्टुडियो नहुँदा हामीले विभिन्न स्थानमा चलचित्रको छायांकन गर्नुपरेको छ । सार्वजनिक स्थानमा त जती गरेपनि दृश्य लुकाउन नसकिने रहेछ ।’

आफू २५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लागेको बताउँदै सुनिलले चलचित्र स्टुडियो बन्नेमा आफू विश्वस्त हुन नसकेको गुनासो व्यक्त गरे । यो चलचित्रको लागि नायक अनमोल केसीले कपाल समेत काटेका छन् । अनमोलको यही दृश्य लिक नहोस् भनेर निर्माणपक्षले प्रयास नगरेको होइन । तर, टिकटकमा उनको यो लुक्स भाइरल नै भयो ।

नेपाली चलचित्रका निर्माताले छायांकन स्टुडियो नहुँदा लोकेशनका लागि दुःख मात्र भोगिरहेका छैनन्, खुलेर चलचित्रको छायांकन पनि गर्न पाएका छैनन् । तर, चलचित्र विकास बोर्डले चलचित्र स्टुडियो बनाउने भनेर हरेक बर्ष कुरा गरेपनि यसको सुरुवात पनि हुन सकेको छैन ।